मन्त्रालयकै कारण १३ सय कामदार अलपत्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मन्त्रालयकै कारण १३ सय कामदार अलपत्र



काठमाडौं – रोजगारीका लागि मलेसिया जाने भिसा लागेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार ठगेको आरोपमा विभिन्न संस्थाहरुलाई खारेज गर्ने निर्णय गरेपछि भिसा लागेकाहरुको पनि प्रक्रिया रोकिएको हो । तर ! मन्त्रीको निर्णय भन्दा पहिला नै मलेसिया जाने प्रक्रिया पूरा गरेकाहरुलाई पनि अन्तिम श्रम स्वीकृति दिइएको छैन ।

आफूहरुले सबै प्रक्रिया पूरा गरेर रकम लिइसकेको कारण उनीहरुलाई अन्तिम स्वीकृति दिन माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघले श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको भएपनि उनीहरुलाई श्रम स्वीकृति दिने विषयमा अझैसम्म पनि मन्त्रालयले केही निर्णय गरेको छैन। संघले श्रममन्त्री विष्टले विभिन्न संस्थाहरु खारेज गर्ने निर्णय गर्नुभन्दा पहिले नै उनीहरुको प्रक्रिया पूरा भएकाले श्रम स्वीकृति दिन माग गरेको छन् ।

“कामदारले रकम बुझाइसकेको र स्वास्थ्य परीक्षण, अभिमूखिकरण तालिम, बिमा, मेडिकल जाँच लगायतका सबै प्रक्रिया पूरा भएकाले रोक्नु गलत हो” संघका अध्यक्ष रोहन गुरुङ भने, “भिसा क्यान्सिल गर्दा पनि खर्च हुने भएकाले उनीहरुलाई पठाउने विकल्प खोज्नु पर्ने व्यवसायीको माग छ। सरकारको निर्णयका कारण पटक पटक काठमाडौं ओहोर दोहोर गर्दा मलेसिया जान ठिक्क परेकाहरु हैरान भएका छन्। खर्चमाथि खर्च थपिएको छ।”

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले आफूलाई यस विषयमा केही पनि जानकारी नभएको र मन्त्रालयको निर्णयका कारण, ताहाचल कार्यालयले नै रोकेको बताए । उनले भने, “यस विषयमा मलाई भन्दा ताहाचल कार्यालयलाई नै बढि थाहा छ, मन्त्रालयको निर्णयपछि रोकिएको हो, व्यवसायी साथीहरुले मसँग पनि कुरा गर्नु भएको थियो।”

भिसा लागेका कामदारको विवरण मन्त्रालयमा बुझाइसकेको संघका अध्यक्ष गुरुङले बताए । पटकपटक प्रयास गर्दा पनि वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयका निमिक्त प्रमुख इन्द्रदेव पाण्डेले भने फोन ‘रिसिभ’ नगरेको जानकारी गुरुङले दिए । उनले भने “मन्त्रीको निर्णयपछि मलेसिया नेपाली कामदार जान बन्द भएको छ। ५ हजार ७ सय ७५ जनाको कलिङ भिसा आए पनि थप प्रक्रियाका लागि लगिएको छैन ।”