शिवरात्रीमा भाङ र भाङ मिसाएका खानेकुरा प्रतिबन्ध - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

शिवरात्रीमा भाङ र भाङ मिसाएका खानेकुरा प्रतिबन्ध



लोकेन्द्र रावल/टीकापुर

टीकापुरमा यस वर्ष शिवरात्रीको बेला भाङ र भाङ मिसाएका खानेकुरा बेच्न, खान र खुवाउन प्रतिबन्ध लगाउने निर्णय भएको छ । बिहीबार इलाका प्रहरी कार्यालय टीकापुरमा भएको एक भेलाले यस्तो निर्णय गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले ११ महिनामा लागू औषध विरुद्धको अप्रेसनमा करिब १२ सय युवा भेटिएको बताउँदै धर्म संस्कृतिका नाममा कुलतको सुरुवात शिवरात्रीबाटै सुरु भएकाले यसलाई रोक्नुपर्ने बताउनु भयो।

यसैगरी टीकापुरमा फागु पूर्णिमाका बेला एक हप्तासम्म दिउसो होली र राती देउडा खेलिँदै आएकोमा यस वर्ष सा“झ ६ बजेसम्म मात्रै खेल्ने निर्णय भएको छ । विगतमा भएका घटना र स्थानीय अगुवाहरूको अनुरोधमा प्रहरीले यस्तो नीति लिएको हो।

गत वर्ष होली चलिरहेका बेला एक युवाको होलीस्थलमै चक्कु प्रहार गरी हत्या भएको थियो भने, २०७२ भदौमा टीकापुरमा भएको घटनामा वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ जनाको ज्यान गएको थियो ।प्रहरी नायव उपरीक्षक सिंहले यस वर्ष भाङ बेच्ने र खानेलाई लागू औषध सरहै मुद्दा चलाइने बताउनु भएको छ ।

भाङ किनबेच रोक्ने र होली दिउसो मात्रै खेल्ने निर्णयको सरोकारवालाले समर्थन गरेका छन् । वर्षैदेखि होली आयोजना गर्दै आएको संस्था टीकापुर सांस्कृतिक समाजका सचिव चन्द्रबहादुर रावलले विगतका घटनाले सचेत हुन बाध्य बनाएकाले यस वर्ष राती होली नखेलाउने बताउनु भयो।

कैलाली होटेल व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बिरमञ्जन बटालाले विगतमा भाङ मिसाएका खानेकुरा खाएका बालबालिकाले २÷४ दिनसम्म दिमागले कामै नगरेको भन्ने कुरा सुनेको बताउँदै यस वर्षदेखि खानेकुरा र मिठाईमा भाङ नमिसाउन सबै होटेल व्यवसायीलाई अनुरोध गर्नुभयो ।

प्रहरीको योजनालाई जनप्रतिनिधि र पार्टीहरूले पनि सहयोग गर्ने वचन दिएका छन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सुरक्षा विश्लेषण अनुसार नै अघि बढ्ने बताउनु भयो ।
राजपाका प्रतिनिधि लक्ष्मण किशोर चौधरीले वडाध्यक्ष र बडघरको अगुवाइमा यस अवधिमा भाङका बिरुवा नष्ट गनुृपर्ने सुझाव दिनुभयो ।

बजार क्षेत्रमा पर्ने वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्यले परिवर्तन आफैबाट सुरु गर्नु पर्ने बताउँदै यस निर्णय कार्यन्वयनमा सकारात्मक सोचका साथ सघाउन आग्रह गर्नु भयो।
ओम शान्ति व्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयका यज्ञमूर्ति अर्यालले कुलतको सुरुवात हुने शिवरात्रीमा भाङ प्रतिबन्ध गर्नुपर्छ भन्ने निर्णय सकारात्कम भएको बताउनु भयो।