शिव सेनाले भन्यो -१७ हजार मानिस मारेको अभियोगमा प्रचण्डलाई यहिँ सजाय दिए के होला ?

काठमाडौं । राजसंस्था पक्षधर शिव सेना नेपालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वराजाका विषयमा जथाभावी नबोल्न चेतावनी दिएको छ ।
युएई भ्रमण सकेर नेपाल फर्किएकै दिन सिन्धुलीको पुल उद्घाटन गर्ने क्रममा हालै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट खेद्ने बताएपछि प्रत्युत्तरमा शिव सेनाले भनेको छ,‘हामी नेदरल्यान्डस् पुग्दैनौं, नेपाली जनताको साथ लिएर प्रचण्डका लागि यहिँ हेग तयार पार्छौं ।’
शिव सेना अध्यक्ष अनिल बस्नेतले आइतबार विज्ञप्ति जारी गरी जनताको साथमा रहेका पूर्वराजाप्रति आवेग र उत्तेजनामा नबोल्नका लागि भनेका थिए । उनले भने,‘१७ हजार मानिस मारेको अभियोगमा प्रचण्डलाई यहिँ सजाय दिए के होला ?’
सत्ता र शक्तिको ध्वाँस देखाउँदै त्यसका आडमा जथाभावी नबोल्न चेतावनी दिएको शिव सेना नेपालले भनेको छ,‘जहाँनियाँ शासन बचाउनका लागि कुनै पनि बेतुकको अभिव्यक्ति नदिनुहोस्, नेपाली नागरिक भएका कारण तपाईले कतिपय अपराध स्वतः माफी पाउनुहुन्छ । तर, नेपाली जनताको हत्याको अभियोग स्वीकार नगरी यसैगरी बोल्ने हो भने भगवान शिवले माफ गरे पनि शिव सैनिकले माफ गर्नेवाला छैन ।’
बस्नेतले प्रचण्डको अभिव्यक्ति आपत्तिजनक रहेको खुलाउँदै भने,‘हो, हामीले हाम्रो जनअदालतले उहाँलाई सजाय गर्न सक्ने भनेका छौं । हामी हेगको व्यवस्था नेपालमै गर्नेछौं, त्यसबेला उहाँले के जवाफ दिनुहुन्छ ?’
शिव सेना नेपालले निरन्तर पूर्वराजाको पक्षमा जनमत तयार पार्दै आएको छ । पूर्वराजाका देशव्यापी कतिपय भ्रमणमा शिव सेना नेपालको सुरक्षा पहरा समेत रहँदै आएको छ । उसले नेपाल राजसंस्थासहितको हिन्दू राज्य हुनुपर्ने जिकीर गर्दै आएको छ ।

