बानमा प्रेस युनियनको नेतृत्व र बर्चश्व, शिव लम्सालको सपना साकार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बानमा प्रेस युनियनको नेतृत्व र बर्चश्व, शिव लम्सालको सपना साकार



भक्तपुर । व्यवसायीक रेडियो सञ्चालकहरुको संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) को नयाँ कार्यसमितिमा प्रेस युनियन निकट व्यवसायीहरुको नेतृत्व र बर्चश्व स्थापित भएको छ ।

आफू निर्वाचित भएदेखि नै बानमा नेतृत्व र बर्चश्वका लागि दुई पदाधिकारीलाई लिएर निरन्तर खटिएका लम्साल आफ्नो सपना पुरा गर्न सफल भएका छन् । उनले युनियनको अध्यक्षमा निर्वाचन भएपनि आफ्नो टिमलाई जिताउने र सर्वसम्मत हुँदा नेतृत्व र बर्चश्व काम गर्ने मिसनमा युनियनका उपाध्यक्ष तथा नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारी र महासचिव तथा पूर्व रेडियोकर्मी दिलिप पौडेललाई लिएर खटिएका थिए ।

अध्यक्ष लम्सालले गठवन्धन र प्रेस चौतारीसँग सहकार्य गर्ने कार्यलाई मुर्तता दिएका थिए भने बानमा नयाँ सदस्य बनाउने, पुराना नविकरण गराउने, जिल्ला जिल्लाबाट बानका प्रतिनिधि भक्तपुर बोलाउने, युनियनको तर्फबाट उम्मेदवारहरु छनौट गर्ने, टिम बनाउने, वार्ताका क्रममा अडान लिनेलगायतका कार्य भने उपाध्यक्ष भण्डारी र महासचिव पौडेललाई परिचालन गरेका थिए ।

युनियनका तीन नेता लम्साल, भण्डारी र पौडेल पछाडिबाट सघाउन भने बानका संस्थापक अध्यक्ष शिव मल्ल, पुर्व अध्यक्षहरु विष्णुहरि ढकाल, गोपाल झा, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, युनियनका नेता कविर राणा, युनियनका पुर्व महासचिव अजयवावु सिवाकोटी लगायतले भूमिका खेलेका थिए ।

अध्यक्ष लम्सालले सुरुदेखि नै प्रेस युनियनको पनि शेखर कोइराला पक्षको आकांक्षिलाई नेतृत्वमा स्थापित गर्न चाहेका थिए । भट्टराई सहित अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्य कोइराला निकटकै भएकाले उनको त्यो चाहना पनि पुरा भएको छ ।

यही भदौ ४ र ५ गते भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनले कार्यसमितिका सबैलाई सर्वसम्मत चयन गरेको हो । सर्वसम्मत नयाँ कार्यसमितिमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र मिडिया नेपालको समर्थन रहेको छ ।

पाँच संगठनका बीचमा भगबण्डा गर्नुपर्दा पनि युनियनले नेतृत्व र झण्डै आधा पदमा आफ्ना उम्मेदवारलाई स्थापित गर्न सफल भएको छ । कुल ११ पदाधिकारी मध्ये अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव र सहकोषाध्यक्ष गरी पाँच पदाधिकारी युनियन पक्षका निर्वाचित भएका छन् । त्यसैगरी कुल ३७ सदस्यीय कार्यसमितिमा १७ जना युनियनका रहेका छन् ।

वानको नयाँ अध्यक्षमा भने तत्कालिन कार्यवहाक अध्यक्ष कुमार भट्टराई निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाई, उपाध्यक्षमा दुर्गा अधिकारी, गोविन्दराज रोस्वारा, राजकुमार थापा, महासचिवमा नविनवावु राई, उप महासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरि जोशी र सहकोषाध्यक्षमा विपिन ढुङ्गाना निर्वाचित भएका छन् ।

ती मध्ये अध्यक्ष भट्टराई, उपाध्यक्षद्धय अधिकारी र थापा, महासचिव राई र सहकोषाध्यक्ष ढुङ्गाना युनियन निकट हुन् ।

आठ बर्षसम्म महाधिवेशन नगराएका युनियनका यसअघिका अध्यक्ष बद्री सिग्देलले नेतृत्व ल्याउन नसकेको संगठनमा लम्सालले नेतत्व र बर्चश्व दुवै कायम गराएका हुन् ।