अब सीप परीक्षण गरेर मात्र कोरिया जान पाइने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अब सीप परीक्षण गरेर मात्र कोरिया जान पाइने



काठमाडौँ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो । आजको कान्तिपुुर दैनिकमा खबर छ ।

कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ । यसका लागि नोभेम्बर २० मा परीक्षा तय भएको छ । भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए । ‘कोरियालाई पढे/लेखेको होइन, मसल भएको सीपयुक्त जनशक्ति चाहिएको हो,’ वैदेशिक रोजगार विभाग, कोरिया शाखाका सूचना अधिकारी शोभाकार भण्डारीले भने, ‘पढेलेखेकाहरू भाषा परीक्षामा पास भएर गएपछि रोजगारदाता परिवर्तन गर्ने र डिप्रेसनमा पर्ने समस्या भयो ।’

काठमाडौंस्थित कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले भाषा परीक्षामा उत्तीर्ण भए पनि सीपमा अदक्ष हुँदा समस्या सिर्जना भएको जनाएको छ । ‘सीप परीक्षण कार्य क्षेत्रसँग सम्बन्धित छ । त्योसँगै अनुभव रहेको प्रमाणपत्र, तालिम, शैक्षिक योग्यता भएकाहरू छनोट हुनेछन्,’ एचआरडी काठमाडौंकी निर्देशक पार्क सुङ हिले भनिन्, ‘यो नयाँ प्रणालीको सुरुवात हो ।’ कृषिमा १ सय १० र उत्पादनमा सय पूर्णांक तोकिएको छ । सीप परीक्षणका लागि पाठ्यक्रम सार्वजनिक गरिएको छैन । भण्डारीले भाषा र सीप परीक्षणका लागि व्यक्ति स्वयं जिम्मेवार रहेको बताए ।

एचआरडी काठमाडौंकी निर्देशक पार्क सुङ हिका अनुसार भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जनाबाट ६ हजार ७ सय जनासम्म छनोट गरिनेछ । सन् २०२० मा कोरियाले उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना छ ।