सिनेजगतमा घरेलु हिंसा - शिल्पा पोखरेलको छवि ओझाविरुद्ध उजुरी - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

सिनेजगतमा घरेलु हिंसा – शिल्पा पोखरेलको छवि ओझाविरुद्ध उजुरी



निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्।

शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको छ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए।

विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ।

यस विषयमा बुझ्न खोज्दा दुबैको फोन उठेन।

उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ।

स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।

छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्।