आवाज, श्रोत र पहुँच नभएका बालबालिकाको पक्षमा - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

आवाज, श्रोत र पहुँच नभएका बालबालिकाको पक्षमा



डिकेन्द्र ढकाल, समाजशास्त्री

अहिले नयाँ शैक्षिक सत्र सुरु हुनासाथ काठमाडौँ र केही अरु सहरका सुविधासम्पन्न निजी/संस्थागत स्कुलले कम्प्युटर र इन्टरनेट प्रविधि (जस्तै जुम एप्लिकेसन ) प्रयोग गरेर “गृह-कक्षा” (home class) सुरु गरिसकेका छन्। ती सुविधासम्पन्न स्कुलमा पढ्ने विद्यार्थीका अभिवावकको आर्थिक हैसियत तुलनात्मक हिसाबले अल्लि राम्रो नै भएको वा उनीहरुले अरु खर्चको मुल्यमा बालबालिकाको पढाइको लागि केही सम्झौता गरेका हुनाले स्कुलले यस्ता योजना बनाउने बित्तिकै अभिभावकले पनि घरमा त्यो बन्दोबस्ती गरिदिन्छन् र यस्ता गृह-कक्षा अर्थात् घरमै बसीबसी कक्षा चलाउन सम्भव हुन्छ। तर झन्डै सबैजसो सार्वजनिक स्कुल र बहुसंख्यक निजी स्कुलले समेत यस्ता प्रविधि प्रयोग गर्न चाहेर पनि सम्भव छैन। पहिलो कुरो, डस्टर र मार्कर नै पु-याउन नसक्ने स्कुलमा कम्प्युटर, इन्टरनेट धेरै टाढाका कुरा भए। दोस्रो, केही सार्वजनिक स्कुलले जेनतेन यो व्यवस्था गर्न सके पनि यी स्कुलका गरिब विद्यार्थीले कम्प्युटर, आइप्याड, ट्याब, स्मार्टफोन आदिबाट मात्र सम्भव हुने यी प्रविधि-माध्यममा पहुँच राख्न सक्दैनन्।

जागिर, परामर्श र सोधको सिलसिलामा मैले नेपालका धेरै स्कुललाई नजिकबाट हेर्न पाएको छु। कर्णाली प्रदेशको मुगु जिल्लाका थुप्रै स्कुलले कक्षाकोठामा डेस्कबेञ्च र सेतोपाटीको व्यवस्था गर्न सकेका छैनन्। चर्पी छ, पानी छैन। विद्यार्थी छन्, पुग्दो संख्यामा शिक्षक छैनन्।स्कुल पोसाक तोकिएको छ तर देशको राजधानी रहेको वाग्मती प्रदेशकै चितवन, मकवानपुर, नुवाकोट जिल्लाका गाउँका स्कुलमा अभिभावकले आफ्ना बालबालिकालाई तिनै युनिफर्म किन्न नसकेकाले स्कुल जान नसकेको स्थिति छ। चितवन र मकवानपुरका चेपांगबस्तीमा अभिभावकहरु दैनिक ज्यालादारी कामको खोजीमा बिहान सबेरै घरबाट निस्किने र बालबालिका भोकै स्कुल जाने गरेका देखेको छु।

अभिभावकले किताब किन्न सक्दैनन्; त्यसकारण सरकारले नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ। तर अझै अभिभावकले बालबालिकालाई कापी र कलम किन्न सक्तैनन्। शिक्षकले कक्षामा ‘होमवर्क देखाऊ’ भन्दा विद्यार्थीले शिक्षकको आँखामा हेर्न नसकेर अभावका पिँडा टल्पिएका उसका आँखा भुईंतिर झुक्छन्; उसले खुट्टाको बूढीऔँलाको नङले भुईँको लिउन कोतर्छ; आँखाबाट झरेका आँशुले बूढीऔँलाको नङले उप्काएको धुलोको थुप्रो भिजेर एउटा सन्देश लेखिन्छ। शिक्षकले त्यो सन्देश पढ्छ र त्यो गरिबीको भाषामा लेखिएको वाक्य बुझ्छ, “कापी छैन!” शिक्षक मौन हुन्छ र कक्षाकोठाको अगाडि यथास्थानमा फर्कछ र नयाँ पाठ सुरु गर्छ। यी नेपालका गाउँघरका असली प्रतिनिधि स्कुल हुन् । राज्यले शिक्षाका योजना बनाउँदा, परोपकारी/गैरसरकारी संघसँस्थाले परियोजना बनाउँदा र स्थानीय सरकारले वार्षिक बजेट बनाउँदा यिनै स्कुलमा ध्यान दिनु अति आवश्यक छ।

तस्विर सौजन्य: अन्जु शर्मा

अहिले सम्भावित महामारीको कारणले देशभरि नै स्कुल बन्द छन्। यस्तो अवस्थामा हाम्रा स्कुल निकट भविष्यमा खुल्ने छैनन्। यसको धेरै वर्णन र व्याख्या गर्न जरुरी छैन। शिक्षाविद् डा. मनप्रसाद वाग्लेले भर्खरै राजधानीमा आधारित एउटा द्रुत सर्वेक्षण गर्नु भएको छ। त्यो सर्वेक्षणको निष्कर्ष अनुसार विद्यालय खुले पनि अभिभावक आफ्ना केटाकेटीलाई विद्यालय पठाउन तयार देखिँदैनन्। आफ्ना सन्तानको पूर्ण सुरक्षाको सुनिश्चितता बिना अभिभावक केटाकेटीलाई विद्यालय पठाउने कुरामा सहमत छैनन् ।

माथि सुरुमा भनिए जस्तै यति बेला सुविधासम्पन्न स्कुलहरुले प्रविधि प्रयोग गरेर कक्षा चलाउलान् । विज्ञहरुबाट प्रविधि प्रयोग गरेर कक्षा चलाउने धेरै सुझाव र उपाय पनि दिनदिनै आएका छन् । अर्को पाटोबाट भन्दा यी सुझावहरु सहर र सुविधासम्पन्न स्कुलकेन्द्रित छन्। आवाज, श्रोत र पहुँच नभएका गाउँघरका सार्वजनिक स्कुल र सहरकै पनि गरिबका स्कुल भनेर चिनिने सरकारी स्कुललाई सुहाउँदा उपायहरु उति सुझेका छैनन्। यसै सन्दर्भमा यस आलेखमार्फत् म यिनै आवाज, श्रोत र पहुँच नभएका स्कुल र यी स्कुलका प्रमुख र प्रत्यक्ष उत्तरदायित्व बोकेका स्थानीय सरकारलाई उपयोगी होस् भनेर केही सुझाव दिन प्रयास गर्दछु।

अहिले कोरोना महामारीको सम्भाव्य संकटको बेला स्कुल शिक्षाको तत्कालिन राहत योजना बनाउँदा प्रत्येक गाउँपालिका र नगरपालिकाले आआफ्ना स्कुल र अभिभावकको हैसियत अनुसार बनाउनुपर्दछ। सबै गाउँपालिका/नगरपालिका बराबरी हिसाबले साधन र श्रोतसम्पन्न छैनन्। हुँदैनन्। त्यसैले हरेक गाउँपालिका/नगरपालिकाले आ-आफ्नो सहजता र सम्भाव्यता अनुसार स्कुलका शैक्षिक कार्यक्रम चलाउने तात्कालिन योजना बनाएर तुरुन्तै सुरु गरिहाल्नुपर्दछ । केही न केही अनिवार्य रुपले सबैले गर्नुपर्छ। यसको सिधा अर्थ हो, अब नयाँ शैक्षिक सत्र अनिवार्य गरिकन तुरुन्तै सुरु हुनुपर्छ। त्यो भनेको स्कुलका गेटहरु विद्यार्थीका लागि नखोलिए पनि, कक्षाकोठामा विद्यार्थी हाजिर गराउन नसकिए पनि प्रत्येक दिन केही घण्टा विद्यार्थीलाई केही न केही सिक्ने सिकाउने काम गराउनैपर्छ। यसो गरेमा विद्यार्थीले आफ्नो भविष्य अनिश्चित भएको महसुस गर्नेछैनन्। पूर्ववत् पढाइलेखाइमा लाग्नेछन्। अन्यथा यही बेला विद्यार्थीहरु स्कुल जानबाट सधैँको लागि हराउनेछन् र यसको मुल्य राज्यलाई धेरै महँगो पर्न जानेछ।

संयोगबस् जाँच गरी सकेर स्कुल बन्द भएकाले अहिले परिक्षाको नतिजा निकाल्न असम्भव छैन। जे सम्भव छ त्यही माध्यमबाट परिक्षाको नतिजा प्रकासन गर्न सकिन्छ। स्कुल नखुलुन्जेल अब उपल्लो कलासमा कसरी पढ्ने भन्नेबारे स्थानीय एफ एम रेडियो कार्यक्रमबाटै शिक्षकहरुले अभिभावकलाई आफ्ना बालबालिकालाई कसरी यो अवस्थालाई सरल र सहज पार्न सकिन्छ सल्लाह दिन सक्दछन्।

हामी नेपालीहरु अभावमा हुर्केका हौँ र अभावलाई सामना गर्ने हाम्रा आफ्नै ethnomethodology (लोक कार्यप्रणाली/लोकपरम्परा/विशिष्ट सामाजिक तौरतरिका) छन् भन्ने सत्य भुल्नुहुँदैन । म स्वयंले गाउँमा कक्षा तीनसम्म पढ्दा नयाँ पाठ्यपुस्तक कहिल्यै पढेको होइन। पिताजीले गाउँमै मभन्दा उपल्लो कक्षामा कसले पढ्दैछ पत्ता लगाउनु हुन्थ्यो र ऊ कक्षा चढेपछि उसकै किताब ल्याइदिई नयाँ गाता हालेर मलाई दिनुहुन्थ्यो। मैले चिनेका थुप्रै आफन्त हुनुहुन्छ जसले स्कुलमा मात्र होइन कलेजसम्म कहिल्यै बजारबाट आएका नयाँ पाठ्यपुस्तक पढ्नु पाउनुभएन। अहिले उहाँहरु कोही प्राध्यापक कोही सरकारी अड्डामा उच्च पदमा हुनुहुन्छ। अहिले पनि आफ्ना बालबालिकालाई उपल्लो नयाँ कक्षाका पाठ्यपुस्तक त्यसरी नै जम्मा गर्न सकिन्छ।

केन्द्रिय सरकारको शिक्षा मन्त्रालयले बालबालिका/विद्यार्थीका लागि ढिलो चाँडो रेडियो र टिभीबाट प्रसारण गरिने श्रव्य/दृश्य शैक्षणिक सामग्री तयार गर्ला। असमान विकास र गरिबीको कारणले सबै जनताहरु टिभीसँग पनि जोडिएका छैनन्। यस्तो अवस्थामा मेरो पुनरावलोकन, अनुभव र अध्ययन अनुसार रेडियो कार्यक्रम नै नेपालका अधिकांश सामुदायिक विद्यालयहरुलाई सबैभन्दा प्रभावकारी हुने देखिन्छ। हामीले विगतमा भए/गरेका सफल अभ्यासबाट पाठ सिक्नै पर्छ। ३०को दशकमा सुरु गरेर २०४१ सालसम्म जनक शिक्षा सामग्री केन्द्रले विद्यालयको स्वीकृत पाठ्यक्रमअनुसार नै रेडियो नेपालबाट स्कुल प्रसारण कार्यक्रम चलाएको थियो। यो कार्यक्रम विद्यार्थी र शिक्षकले स्कुल समयमै कक्षाकोठामा सुन्न सक्दथे। अनुभवीहरुको अनुसार यो कार्यक्रम निकै प्रभावकारी थियो।अहिले पनि यो कार्यक्रमलाई हालको स्कुल बन्द समयको बेलामा घरबाटै सुन्ने र सिक्ने/पढ्ने तौरतरिकामा ढालेर चलाउने हो भने एकदमै उपलब्धिपूर्ण हुन सक्छ।

यस्ता कार्यक्रमलाई स्थानीय सरकारको विशेष पहलमा स्थानीय एफ एम रेडियोमार्फत् चलाउन सकिन्छ। राष्ट्रिय प्रशासरण भएन भने पनि स्थानीय विषय विज्ञ शिक्षकबाट एफ एम रेडियोमा यस्ता कार्यक्रम चलाउन सकिन्छ। अहिले धेरैजसो स्कुलहरु स्थानीय/गाउँ टोलकै शिक्षकबाट चलेको अवस्था छ। त्यसकारण स्कुलले लगभग सबै अभिभावकको फोन नम्बर संग्रह गरेर कार्यक्रम चलेको बेला विद्यार्थीलाई अनिवार्य रेडियो सुन्न लगाउने, पाठ सुन्ने र “कक्षाकार्य”/”गृहकार्य” गराउन अनुरोध गर्न समयतालिका प्रसार गर्न सकिन्छ ।

विद्यार्थीहरुलाई रेडियोबाट जानकारी गराएर अब “गृह पाठशाला” सुरु भएको जानकारी गराए जस्तै सम्पूर्ण शिक्षकले पनि गाउँ/नगरपालिकाको निर्देशनमा स्कुल/पालिकाको कार्यालय वा घरबाटै “गृह पाठशाला” संचालनमा सहयोग पु-याउनु पर्दछ। स्कुल उपस्थित हुन नसकिने अवस्था रहेसम्म आफ्ना स्कुलका सबै शिक्षकलाई प्रधानाध्यापकले फोन मार्फत् नै दिनहुँ केही काम दिनु आवश्यक हुन्छ। यसको नियन्त्रण र अनुगमन एवं मुल्याकनको लागि प्रत्येक शिक्षकले आफूले घरमा गरेका शैक्षणिक क्रियाकलापलाई टाइम शीटमा भर्न सकिन्छ, प्रधानाध्यापकले शिक्षकक गतिविधिको “लगबुक” राख्न सक्दछन्। यस अवधिमा शिक्षकले तत्कालका लागि पाठ्यसामग्री बनाउन सक्दछन्; भविष्यका लागि शैक्षणिक सामग्री तयार गरेर राख्न सक्दछन् । जे जसरी सकिन्छ, स्कुल लाग्ने समय (१०-४बजे) सबै शिक्षकले विद्यार्थीको पढाइको लागि नै व्यतित गर्ने विधि अवलम्वन गर्नुपर्छ । यसबारे गाउँ/नगरपालिकाका सम्वन्धित् शिक्षा अधिकृतले अनुगमन गर्ने कार्यविधि बनाउन सकिन्छ।

पठनपाठनको कुरा गर्दा यस्तो कठिन बेला गृहकक्षामा सबै विषय पढाउन सम्भव नहुन सक्छ। त्यसकारण मुख्य र सम्भव हुने विषय मात्र पढाउने व्यवस्था गर्न सकिन्छ। भाषा (नेपाली, अङ्ग्रेजी), सामाजिक शिक्षा, व्यावहारिक गणित केही उपयुक्त छनौट हुन सक्दछन्। यस्तो बेला गृहकार्य दिनु निकै सहयोगी हुन्छ। विद्यार्थीलाई स्कुल खुलेपछि यति बेला गरेको गृहकार्यको मुल्याङ्कन हुने कुरामा आश्वस्त पार्नुपर्दछ र गरिनुपर्दछ । यसलाई वार्षिक पूर्णांकमा समावेश गरिने कुरा विद्यार्थीलाई जानकारी दिनु निकै प्रभावकारी हुन्छ ।

यति बेला गाउँ/नगरपालिकाले आफ्नै घरमा पढाउन सक्षम परिवारका सदस्यलाई घरमा पढाउन सम्झाउन र प्रेरित गर्न आवश्यक छ । रामायणमा हनुमानको एउटा उपकथा छ । बनवासका बेला हरणमा परेकी सीतालाई खोज्ने क्रममा रामका अनन्य सेवक हनुमान क्षार समुन्द्रको किनारमा पुगे। उनलाई सीतालाई समुन्द्रपारि पु-याइएको जानकारी प्राप्त थियो। “यो समुन्द्र कसरी तर्ने होला ?” हनुमानले प्रश्न गरे। “हनुमान ! तिमीले त जन्मना साथ उदाउँदो लाल सूर्यलाई पाकेको फल भन्ठानी उडेर गई सूर्यलाई टपक्क टिपी निलिदिएका होइनौँ ? “हनुमानलाई उनको क्षमता कसैले स्मरण गरायो। त्यसपछि हनुमानले सजिलै उडेर समुन्द्र पार गरे र सीतालाई भेटे। रामायणको कथाबाट सिकिने अनेकौँ शिक्षा मध्ये एउटा पाठ के हो भने कहिलेकाहीँ हामीलाई अरुले हाम्रो क्षमताबारे स्मरण गराई दिनुपर्दछ। कुरा सामान्य भए पनि कहिलेकाहीँ अरुको प्रेरणा चाहिन्छ।

त्यसैले घरमा माथिल्लो कक्षामा पुगेकाले सानो कक्षाका भाइ बहिनीलाई पढाउन सकिन्छ, अभिभावकले पढाउन सकिन्छ, यति पनि नभए बालबालिकालाई पढ्न लगाउन त अवश्य सकिन्छ भनेर अभिभावकलाई सम्झाउनु पर्दछ। फेरि सबै विषय पढ्न र सिक्नलाई शिक्षक अनिवार्य चाहिने होइन। शिक्षकले नबुझाएसम्म बुझ्नै नसकिने गरी पाठ्यपुस्तक तयार गरिएको हुँदैन। वास्तवमा पाठ्यपुस्तक तयार गर्दा सकेसम्म शिक्षकको सहयोग बिना नै पढ्दा पनि बुझिने गरी बनाइएको हुन्छ। तर यही कुरा लागु गर्न पनि कतिपयको आँखा खोल्नु पर्दछ। यसको लागि फेरि स्थानीय सरकारले रेडियो कार्यक्रममार्फत् अभिभावकलाई भन्न लगाउन आवश्यक हुनसक्छ।

यति बेला विद्वान शिक्षक मित्रहरुलाई मेरो विशेष अनुरोध के छ भने विद्यार्थीहरुलाई दिनहुँ डायरी (दैनिकी) लेख्न लगाउनोस्। डायरी लेख्न लगाउँदा अभिव्यक्ति तथा सिर्जनशील कलाको विकास र धेरै राम्रो अभ्यास हुन्छ । “दी डायरी अभ अ यंग गर्ल” (The Diary of a Young Girl) नाममा प्रकासित एन फ्रेन्क (Anne Frank)को डायरी निकै प्रसिद्ध छ। हिटलरको नाजी सेनाले नेदरल्याण्ड्स कब्जा गरेको बेला नाजी सेनाले भेट्टाउलान् कि भनेर आफ्नो परिवारसँग १९४२ देखि १९४४सम्म लुकिरहेको बेला एन फ्रेन्कले आफ्नै डच भाषामा यो डायरी लेखेकी थिइन्। लेखिएको दिन मिति राखेर सुरु गरिएको डायरी प्रत्येक दिन लगभग एक पेज जति छ। अहिले यो डायरी पुस्तक आकारमा संसारका ६० भन्दा बढी भाषामा प्रकासित छन्। मैले यो प्रसंग यहाँ ल्याउनुको विशेष कारण एन फ्रेन्क त्यो बेला १३ बर्षकी थिइन् र त्यस्तो विषम् र कठोरतम् परिस्थितिमा पनि त्यो उमेरमा लेख्न सकेकी थिइन् । त्यसैले मेरो आग्रह, डायरी लेखन स्कुले केटाकेटीलाई लेखाउन बिल्कुलै सम्भव छ।

अन्त्यमा, यति बेला सबै पाठहरू विशुद्ध शैक्षिक (academic) नै हुन आवश्यक छैन। यस्ता बेला गृह-कक्षामा पढाइने पाठ जीवन जिउन सिकाउने सिपका अभ्यास हुन सक्छन् जुन हामी सबैले आफ्ना बालबालिकाले सिकून् भन्ने चाहन्छौं। यी सिप पनि स्थानीय आवश्यकता अनुसार फरक फरक हुन सक्दछन् र म दोहो-याउन चाहन्छु, ती जीवन जिउन सिकाउने सिप नै भविष्यमा अनमोल सिकाइ हुने पक्का छ ।

अब म मेरा निजी, घरायसी र अनुभवले खारिएका केही व्यावहारिक सुझावहरु पस्केर यो आलेख टुङ्ग्याउँछु। लकडाउनको सुरुआती समयमा रेडियो लुम्बिनीका कार्यक्रम उत्पादकले फोनबाट मलाई सम्पर्क गरी यस्तो बेलामा अभिभावकले बालबालिकालाई के कसरी सिकाउन र राम्ररी व्यस्त राख्न सक्दछन् भन्ने बारे प्रत्यक्ष रेडियो कार्यक्रममा कुराकानी गर्न अनुरोध गर्नुभयो। रेडियो लुम्बिनीको त्यो कार्यक्रममा ४० मिनेट जति कुराकानी भयो। कुराकानीमा व्यवहारिक सुझाव प्रस्तुत गर्ने उद्येश्यले मैले आफूले घरमा जे अभ्यास गरिरहेको थिएँ तिनै कुरालाई दोहो-याउन प्रयास गरेको थिएँ। त्यो कुराकानीपश्चात् मैले रेडियोमा नै गरेका कुरा आफूले अझ इमान्दार भएर लागु गर्नुपर्छ भनेर थप होसियार भएर अभ्यास गर्न/गराउन प्रयास गरेँ।

यसै बेलामा गत हप्ताबाट मेरो छोराको स्कुलले गृह-कक्षा सुरु ग-यो। यस समयमा उसको स्कुलले नै औपचारिक हिसाबले तयार पारेर सबैलाई पठाएको “गृह कक्षा”को निश्चित समयतालिका छ, प्रत्येक दिन हाजिरी हुन्छ, फरक फरक विषयको पढाइ हुन्छ र गृहकार्य पनि दिइन्छ। मैले घरमा स्वयंले गरेको अभ्यास र स्कुलले चलाएको गृह कक्षाको औपचारिक तालिकाका दुइटा परिदृश्य प्रस्तुत गर्नुको कारण हो: मैले आफैले मेरो छोरालाई पढाउन/सिकाउन प्रयास गर्दाभन्दा स्कुलले गृह कक्षा सुरु गरेर पढाउन सुरु गर्दा छोराको दैनिक समयतालिका धेरै लयवद्ध भयो। मैले रेडियोमा केही संदेश दिएपछि र म आफैले अझ इमान्दार भएर आफूले जानेका र भनेका कुरालाई व्यवहारमा उतार्न प्रयास गरेको थिएँ तर पनि अनौपचारिक घरको सिकाइमा बालबालिकालाई स्कुलले जस्तो समयवद्ध बनाएर प्रभावकारी हिसाबले सिकाउन नसकेको महसुस गरेँ।

घरमा अभिभावकले दिने वातावरण औपचारिक शिक्षाको लागि परिपुरक गतिविधि मात्र रहेछ भनेर म थप विश्वस्त भएँ। त्यसैले म के निष्कर्षमा पुगेँ भने स्कुल चाहिन्छ नै। त्यसैले स्कुल जसरी भए पनि सुरु हुनै पर्छ। तर अहिलेको विशेष अवस्थामा “गृह स्कुल” नै चलाउन सकिन्छ। सक्नुपर्छ। नत्र बालबालिकाको भविष्यसँगै देशको भविष्य पनि बर्बाद हुनेछ। हाम्रा आवाज, श्रोत र पहुँच नभएका स्कुल बालबालिकाले देशभित्र मात्र होइन, देशबाहिरका बालबालिकासँग पनि प्रतिस्पर्धा गर्नु जो छ।

(पंक्तिकारले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनबाट डेभलपमेन्ट स्टडीजमा एमफिल गरेका छन् ।)

लेखकबाट थप:

दुर्भाग्यवस हामी तेस्रो चरणमा पुग्यौँ भने बर्बादै हुन्छ

समाजशास्त्रीय दृष्टिकोणमा कोरोना महामारी

नेपालमा संक्रमणको तेस्रो चरण: नागरिकको अबको जिम्मेवारी

कोरोनाले ल्याएको विपद्: नेपालको वर्तमान र भविष्य