शेखर कोइरालाको ठोकुवा नेकपाकै कारण सङ्घीयता सकिन्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शेखर कोइरालाको ठोकुवा नेकपाकै कारण सङ्घीयता सकिन्छ



काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा र वर्तमान सरकारकै कारण संघीयता सकिने ठोकुवा गरेका छन् ।

कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिस बनेको बताएका हुन् ।

कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले वर्तमान नेकपा सरकार नै संघीयता विरोधी रहेको आरोप लगाए ।

डा कोइरालाले भने-“तत्कालीन समयमा संघीयता कांग्रेस, एमाले र माओवादीको ऐजेन्डा नै थिएन। मधेस आन्दोलनकै कारण संघीयता आएको हो।”

डा कोइरालाले संघीयता आफ्नो पार्टीको ऐजेन्डा थियो भनेर जनतासामु कुनै पनी पार्टीले झुटो बोल्न नहुने बताए।

नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौमा आयोजना गरेको “नेकपा सरकारका दुई बर्ष-संघीयता कार्यान्वयनमा उदासीनता” विषयक कार्यक्रममा उनले सरकारको २ वर्षे कार्यकाल पूर्णरुपमा असफल रहेको बताए।

कोइरालाले वितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब-किसान-मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुँदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुँदै गएको, दण्डहिनता बढेको,संवैधानिक निकायहरु पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको आरोप लगाए ।