गुट बिर्सेर मत दिनुस्, एक मतले नेपालको भविष्य फेरिनेछ: शेखर कोइराला - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गुट बिर्सेर मत दिनुस्, एक मतले नेपालको भविष्य फेरिनेछ: शेखर कोइराला



नेपाली कांग्रेसमा सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेवक पुर्‍याएर दोस्रो चरणको मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. कोइरालाले एक मतले पनि नेपालको भविष्य परिवर्तन गर्ने भएकोले दोस्रो चरणमा मतदान गर्दा विवेक पुर्‍याउन आग्रह गरेका छन्।

पहिलो चरणको निर्वाचनबाट कुनै पनि सभापति पदका उम्मेदवारले पचास र थप एक मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो।

मतदान सुरु हुनु केहीअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोइरालाले कांग्रेसको जीवनलाई व्यवस्थित गर्ने प्रयासमा लागेको अभियान सफल पार्न पनि आफूलाई मत दिनुपर्ने तर्क उनले गरेका छन्।

राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने भएकोले महाधिवेशन प्रतिनिधिले विवेकलाई हेक्का राख्नुपर्ने पनि उनले सम्झाएका छन्।

‘राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्छ भन्ने कुरामा म अत्यन्त विश्वास गर्छु,’ कोइरालाले भने, ‘मूल्य र नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन।’

‘महाधिवेशन प्रतिनिधि आफैँमा नेता हुनुहुन्छ’, कोइरालाले भने, ‘आफ्नो मनको अन्तरआत्माबाट विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास छ। त्यो एक मतले नेपालको भविष्य परिवर्तन गर्न सक्छौं।’

उनले भोट हाल्दा गुटउपगुट सबै बिर्सेर आफ्नो मनलाई विश्वास गर्दै मत दिन पनि उनले आग्रह गरेका छन्। ‘म नेपाली कांग्रेसको सबै जीवन व्यवस्थित गर्ने प्रयास गर्नेछु’, उनले भनेका छन्, ‘रुपान्तरण र पुनर्जागरण कुरा ल्याएर आएको छु। त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउँछु। हामीले बनाएको टीमले मिलेर काम गर्छौं।’

उनले आफ्नो जीवन आउने पुस्ताका अर्पण गर्न तयार रहेको पनि बताए। ‘महाधिवेशनबाट आउने जुनसुकै परिणाम सहर्स स्वीकार गर्छु’, उनले भने, ‘कांग्रेसभित्र बृहत्तर एकताको प्रयास जारी राख्नेछु। दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुनेछ।’