देउवाले पेल्न खोजे चुनाव नै बहिस्कार गर्ने शेखर समूहको रणनीति - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

देउवाले पेल्न खोजे चुनाव नै बहिस्कार गर्ने शेखर समूहको रणनीति



काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिंदै जाँदा कांग्रेस भित्रको विवाद झनै झाँगिदै गएको छ । महाधिवेशनमा ४० प्रतिशत बढी मत ल्याएका डा. शेखर समूहलाई निरन्तर पेल्दै आएका सभापति शेरबहादुर देउवा यतिबेला संकटमा पर्ने देखिएको छ ।

निर्वाचन घोषणापछि लगातार गठबन्धनको बैठक बस्दापनि सिट बाँडफाँटमा तनाब भैरहेका बेला देउवा इतर समूहले भने छुट्टै अभ्यास गरिरहेको छ । पार्टीलाई कम्तिमा १ सय सिट चाहिने र आफ्नो समूहका नेताहरूलाई उचित व्यावस्थापन हुनुपर्ने माग राख्दै शेखर समूहले दबाब बढाउँदै लागेपछि देउवा संकटमा पर्ने देखिएको हो ।

कांग्रेसले कति सिट पाउने भन्ने विषय टुंगिएको छैन त्यसमाथि शेखर समूहलाई देउवाले कसरी सम्बोधन गर्लान भन्ने त परेको कुरा बनेको छ । डा. शेखर समूह १०० भन्दा घट्ने पक्षमा छैन ।

अर्कातिर माओवादी र समाजवादीको दबाबमा कांग्रेसले सय सिट भन्दा निकै तल झरेर सहमति गर्न लागेको हल्लापछि कांग्रेसभित्र झनै अफ्ठ्यारो अवस्था सिर्जिएको छ । मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावमा तालमेल गरेर जाने सत्तारुढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्न थालेको टिप्पणी गरेपछि झनै अफ्ठ्यारो अवस्था आउने देखिएको छ ।

नेपालको भनाइले गठबन्धनमा कांग्रेसले बढी दाबी गरेको संकेत गर्छ । कांग्रेसको दाबीमा गठबन्धनका अन्य दल पनि सहमत छैनन् । कांग्रेसको संस्थापनलाई सघाएका वरिष्ठ नेता रामचन्द्र पौडेलले ९० भन्दा तल भर्न नहुने अडान शीर्ष नेता र कार्यदलको बैठकमा राख्दै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवा भने ८६ सिट पाए मान्ने पक्षमा भएको बताइन्छ ।

शेखर समूह भने कांग्रेसले पाउने सिटमा ४० प्रतिशतको दाबी गर्ने पक्षमा छ । कांग्रेसमा भागवण्डाको त्यो रीति आफूले पार्टीको कमाण्ड नपाउँदा देउवा स्वयम्‌ले बसाएका थिए । अहिले संस्थापनइतर समूह देउवालाई त्यही कुरा सम्झाउन चाहन्छ ।

देउवाले फरक मतलाई लत्याउने प्रयास गरेको खण्डमा भने शेखर समूह सशक्त बन्ने देखिएको छ । शेखर समूहले देउवाले आफ्ना माग सम्बोधन नगरेको खण्डमा विद्रोह गर्ने चेतावनी समेत दिएका छन् । सुवा कसरी अघि बढ्छन् त्यसमा पार्टीको भविष्य निर्भर रहने आंकलन गरिएको छ ।

शेखर मात्र होइन पार्टीका अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीले पनि देउवाले एकलौटी गरे चुप लागेर नबस्ने बताएका थिए ।

शेखर समूहको रणनीति

देउवाले आफूहरूलाई सम्मानजनक हैसियत नदिए चुनाव बहिस्कार गर्ने तयारीमा शेखर समूह रहेको बताइन्छ । शेखर समूहमा बहेका पछिल्ला छलफल र दिएका चेतावनीले पनि यस्तो संकेत गर्छ ।

कतिपय मिडियामा देउवाले अन्याय गरे एमालेसँग मिल्ने शेखर समूहको तयारी भन्ने बहस चलाइएपनि यस्तो सम्भावना नभएको बरु चुनाव बहिस्कारको योजना बनेको एक नेताले बताएका छन् ।

आफूहरूलाई सम्मानजनक हैसियत नदिए तपाईंहरूले नै चुनाव लड्नुस्, हामी कतै कोही पनि सहभागी हुन्नौँ, चुनाव बहिस्कार गर्छौं भन्ने तयारी रहेको ती नेताले बताए ।

यता सम्मानजनक हैसियत खोजेको शेखर समूहलाई कहिलै पनि समय देउवाले नदिएको गुनासो समेत आउने गरेको छ । गठबन्धनमा अन्य दल फकाउन घण्टौँ बिताउने देउवाले पार्टीभित्रको विवाद मिलाउन भने समय दिने गरेका छैनन् ।

देउवाले एकलौटी गरिरहे चुवावै नलड्ने, बहिस्कार गर्ने तयारी इतर पक्षले गरेकोबारे देउवाले पनि सूचना पाइसकेका छन् । देउवा तत्कालीन समयमा इतर समूहको नेता हुँदा सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग ६०–४० को भागवण्डाका लागि निकै बार्गेनिङ गर्ने नेता हुन् ।

उक्त समयमा देउवाले ४० प्रतिशत भाग लिएर आफू पक्षका नेताहरूलाई बाँडेका देउवाले अहिले के गर्छन हेर्न भने बाँकी छ । कांग्रेसभित्र भागवण्डाको संस्कार देउवाले नै बसालेको नेताहरूले बताउँछन् ।