शेखर कोइराला भन्छन: ओली निकै सशंकित छन् - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

शेखर कोइराला भन्छन: ओली निकै सशंकित छन्



काठमाडौं- पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन्।

ओलीले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालासँग डेढ घण्टा कुराकानी गरेका थिए।

के के भए त कुरा? आजको कान्तिपुरले शेखर कोइरालासँग प्रतिक्रिया लिएको छः

तपाईं प्रधानमन्त्रीलाई भेट्न आफैं जानुभएको हो कि बोलाएर?

उहाँले बोलाएर गएको हुँ। करिब डेढ घण्टा कुराकानी भयो।

कस्तो कुराकानी भयो?

पहिलेभन्दा धेरै चिन्तित भएको देखें। राष्ट्रिय सभाकै विषयमा उहाँ तनावमा हुनुहुन्थ्यो।

कसलाई मानोनीत गर्दै छु भन्नुभयो?

तपाईंलाई के लाग्छ भन्नुभयो। मैले मन्त्रिपरिषद्को सिफारिसले बनाउने हो, तपाईंले जसलाई बनाए पनि हुन्छ तर एउटा व्यक्तिका लागि संंविधान संशोधन गर्न खोज्नुभयो भने दुर्भाग्य हुन्छ। तपाईंले थाम्न सक्नुहुन्न भनें।

सरकार संकटमा पर्न लागेको बताउनुभएको हो?

प्रत्यक्ष भन्नुभएन तर संकेत त्यस्तै थियो। मैले शेरबहादुरजीसँग पनि कुराकानी गर्नुस् भनें। उहाँले दुई दिनअघि कुराकानी भयो भन्नुभयो। उता प्रचण्डजीले पनि भेटेको कुरा गर्नुभयो। प्रचण्डजी र शेरबहादुरजीको कुराकानीले कता कता सशंकित भएजस्तो लाग्यो।

सरकारकै विषयमा थप केही भन्नुभएको थियो?

नैतिकताका आधारमा हामीले पनि राजीनामा मागेका छौं भनेर मैले भनें। प्रतिपक्षले भन्ने कुरा बेग्लै, आफ्नै पार्टीका मान्छेले पनि जथाभावी बोल्दै हिँडेका छन् भन्नुभयो।

अरू पनि विषयमा छलफल भयो कि?

एमसीसीका विषयमा लामै कुराकानी भएको थियो। अमेरिकाले त्यत्रो अनुदान दिएको छ। नलिने भन्छन् हाम्रै साथीहरू भन्दै दुःखमनाउ गर्दै हुनुहुन्थ्यो।

अमेरिकाको अनुदान सहयोग नलिए ट्रान्समिसन लाइन कसरी बन्छ? भन्नुभयो। मैले पनि तपाईंहरूले यसलाई संसदबाट पारित गराउन सक्नुभएन भने बैंकहरूसमेत डुब्ने अवस्था आउन सक्छ भनें। उहाँले हो भन्नुभयो।