मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु : शेखर कोइराला - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको प्रतिस्पर्धामा आफूले जित्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो दाबी गरेका हुन् ।

सुरुमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई स्मरण गरेका उनले राजनीतिक गर्ने व्यक्तिमा नैतिकता नरहे उसको राजनीति अघि बढ्न नसक्ने बताए । उनले कुनै नेताले कसैलाई समर्थन गर्दैमा महाधिवेशन प्रतिनिधिको विवेक किन्न नसक्ने भन्दै कसलाई छान्ने भन्ने निर्णय महाधिवेशन प्रतिनिधिले नै गर्ने उल्लेख गरे ।

“म राजनीति गर्ने व्यक्तिमा नैतिक मूल्य रहेन भने राजनीति अघि बढ्न सक्दैन भन्नेमा विश्वास गर्छु,” कोइरालाले भने, “दोस्रो चरणको निर्वाचनमा महाधिवेशनका प्रतिनिधिहरूले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ ।”

उनले गुट, उपगुट र समूह बिर्सेर विवेकको मतदान गर्न पनि आग्रह गरे । “भोट हाल्दा गुट, उपगुट बिर्सनुस्, तपाईंको विवेकले के भन्छ त्यहीँ भोट हाल्नुस्,” कोइरालाले भने, “म नेपाली कांग्रेसबाट गुट, उपगुट अन्त्य गर्न चाहन्छु ।”

उनले पार्टीमा अव्यवस्थाको चाङ लागेको भन्दै त्यसको व्यवस्थापन अनिवार्य भइसकेको बताए । “मैले विगत पाँच वर्षयता रूपान्तरण र पुनर्जागरणका कुरा गर्दै आएको छु । म त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन चाहन्छु र त्यसकै लागि हाम्रो टिम बनेको छ,” उनले भने, “म मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु । मैले जितेँ भने पनि हारे भने पनि यो पार्टीको बृहत्तर एकता र रूपान्तरणमा नै लागिरहनेछु ।”

उनले सोमबार मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद पनि दिए ।