शेखर–गगन समूहमा कुरा मिलेन, शेखरले छाडेनन् अडान - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

शेखर–गगन समूहमा कुरा मिलेन, शेखरले छाडेनन् अडान



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि संस्थापनइतरबाट अघि सरेका शेखर कोइराला र गगन थापाबीच सहमति हुन सकेन ।

शेखर कोइरालाले दलको नेतामा उठ्ने अडान लिएपछि सहमति नहुने देखिएको हो । सहमतिका लागि शेखर र गगनबीच फेरि छलफल हुने भएको छ ।

सकेसम्म एउटै उमेदवार बनाउने प्रयास जारी राखिएको नेताहरुले जानकारी दिएका छन् । “हामीले एकजनामात्रै बन्न पहिले जोड दिएका हौँ, अहिले कोइरालालाई गगन थापालाई सहयोग गर्न आग्रह गरेका छौँ, आशा छ इतर समूहबाट एकजनामात्रै उमेदवार बन्नेछन्,” उनले भने ।

अहिले लैनचौरमा बसेको छलफलले एउटै उमेदवार बनाउने निष्कर्ष निकाले पनि को भन्ने टुंगो नलगाएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार फेरि पनि सिंहदरबार नजिकैको एक होटलमा छलफल हुनेछ । नेता सञ्जय गौतमका अनुसार दुवै नेता अडानमै छन् ।

“हामीले दुईजना नेतालाई जिम्मा दिएका छौँ,” उनले भने, “उहाँहरुमात्रै छलफल गर्नुहुन्छ । सुखद समाचार सुन्न पाइनेछ ।”