कांग्रेसबाट विद्रोह गर्ने डा. शेखर समूहको चेतावनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कांग्रेसबाट विद्रोह गर्ने डा. शेखर समूहको चेतावनी



विराटनगर – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर चुनावमा गए कांग्रेसभित्रै विद्रोह हुने चेतावनी दिएका छन् । आफैं चुनाव लड्ने मोरङको क्षेत्र नम्बर ६ को कार्यकर्ता प्रशिक्षणमा बोल्दै कोइरालाले कुनैपनि क्षेत्रका कांग्रेस नछुट्ने गरिमात्रै गठबन्धन हुनुपर्ने बताए ।

आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले एक सय सिटभन्दा तल रहेर कांग्रेसले गठबन्धन गर्नै नसक्ने जिकिर गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदम रोक्नका लागि मात्रै कांग्रेसले अन्य दलहरुसँग गठबन्धन गरेको बताए ।

‘गठबन्धनको मर्म भनेको एमालेले गरेको असंवैधानिक कदम रोक्ने मात्रै हो’, उनले भने, ‘एक सय सिटभन्दा कम लिएर काँग्रेसले गठबन्धन गर्यो भने काँग्रेसभित्र विद्रोह हुन्छ ।’

कोइरालाले गठबन्धन गर्दा कुनैपनि क्षेत्रमा काँग्रेस नछुट्ने गरी गर्नुपर्ने बताए । काँग्रेसलाई बलियो बनाउन सबै क्षेत्रमा काँग्रेसको उम्मेदवार हुनुपर्ने उनले बताए । पार्टीभित्रको बेथिति बढ्दै गएको भन्दै उनले त्यसको नेतृत्व वर्तमान नेतृत्वले गरिरहेको पनि आरोप लगाए ।
गठबन्धन गर्नै नहुने बताउँदै आएका कोइरालाले स्थानीय तहमा भएको गठबन्धनबाट परिणाम भने राम्रो आएको बताए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेशसभा सदस्य चुमनारायण तबदार, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, केन्द्रीय सदस्य रुकमणी कोइराला, डा.डिला संग्रौला, महाधिवेशन प्रतिनिधि प्रमिला गच्छदारलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।