अब देउवा दलको नेतामा उम्मेदवार होइन, प्रस्तावक बन्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकका रूपमा आफूले हेर्न चाहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकका रूपमा हेर्न चाहेको बताएका हुन् ।
देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा काम गरे पनि पटक-पटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको महामन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री हुँदा देउवाले मुक्त कमैया, दलित, महिला, जनजातिलगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको उनले बताए । शर्माले प्रधानमन्त्री देउवासमक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताए ।
पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने शर्माको भनाइ छ । महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पारे ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ । उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन् । कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा सुरु भएको हो । उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन् । यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ ।
उहाँको सम्मानजनक बहिर्गमन हुनेछ । यदि उहाँले जनजातिबाट प्रकाशमान सिंह, प्रतिस्पर्धी डा. शेखर कोइराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधि, बीपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोइराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन्,’ उनले भने ।
आफू गगन थापाको प्रस्तावक बन्ने जनाउँदै महामन्त्री शर्मा भन्छन्, ‘आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रूपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रस्तावकका रूपमा हेर्न पाइनेछ । म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रस्तावक बन्न उभिनेछु ।’
महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकांक्षामा अर्को गठबन्धनको खोजी गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मविरुद्ध जान नहुने बताए । गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने शर्माको भनाइ छ । ‘मैले आफ्नै पार्टीको सभापति, माओवादीको अध्यक्ष, एकीकृत समाजवादीको अध्यक्षलाई पनि अपिल गर्नुछ कि चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकंक्षाको जगमा अर्को गठबन्धनको खोजी गर्ने कर्म हामी कसैले गर्नु हुँदैन । विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ, त्यसैले सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि
उठेर जानुपर्छ । अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्गै रूपमा उभिनु हुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रूपमा लिँदैनौँ । प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन । पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ । आलोपालोको विकल्प छैन,’ उनले भने । महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पारे ।