अर्थमन्त्री शर्माविरुद्ध सरकारी बैंकका कर्मचारी संघले निकाले कडा विज्ञप्ति - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

अर्थमन्त्री शर्माविरुद्ध सरकारी बैंकका कर्मचारी संघले निकाले कडा विज्ञप्ति



काठमाडौं । पाँच सरकारी स्वामित्वका बैंकका कर्मचारी संघ/संगठनले अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्न राजनीतिक प्रतिशोध साँधेर गभर्नरमाथि कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, नेपाल बैंक कर्मचारी संघ, कृषि विकास बैंक कर्मचारी संघ र राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले संयुक्त विज्ञप्ति निकालेर सीमित स्वार्थका लागि स्वायत्त एवं संवेदनशील निकायको जिम्मेवार पदाधिकारीमाथि देशको समग्र वित्तीय प्रणाली र अर्थतन्त्रमाथि दिर्घकालीन नकारात्मक असर पर्ने गरी कपोकल्पित आरोप लगाउँदै निलम्बन गरिनु निन्दनीय भएको भन्दै आपत्ति जनाएका हुन् ।

केही राष्ट्रहरूले भोग्दै आएको आर्थिक संकटबाट पाठ सिक्दै केन्द्रीय बैंकबाट समयमै प्रेषित सूचना र सुझावको कार्यान्वयन गरी मुलुकको अर्थतन्त्रको उद्धारमा संवेदनशील हुनुपर्ने जिम्मेवार तालुक मन्त्रालय र सरकारको ध्यान केन्द्रीय बैंकप्रति ‘हलो अड्काउने र गोरु चट्काउने’ नीति अख्तियार गर्ने र केन्द्रीय बैंकको स्वायत्तता माथि नाङ्गो हस्तक्षेप गर्दै गैरकानूनी निर्देशन दिन मै केन्द्रित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय बैंकको स्वायत्ततालाई सम्मान गर्दै जारी हस्तक्षेप बन्द गर्न र निराधार आरोपका आधारमा सुरू गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीमाथि सुरू गरिएको कारबाही अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौं । यस्ता प्रवृत्तिहरु नरोकिने र नसच्चिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वको लागि ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुनेछौं । यसबाट आउनसक्ने सबै परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी स्वयंले लिनुपर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।’

विगत केही समयदेखि विश्व बजारमा भएको पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि, बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण आप्रवाह जस्ता नकारात्मक आर्थिक परिसूचकबाट विदेशी सञ्चिति माथि तीव्र दबाब पर्दै गएको र वित्तीय बजारमा निरन्तर लगानीयोग्य तरलताको अभाव बढ्दै गएको सन्दर्भमा समयमै सजगता र संयमता अपनाउन नसकिएमा यसबाट अर्थतन्त्र नै गम्भीर संकटमा पर्नसक्ने आँकलन हुँदै आएको छ ।