श्रद्धाञ्जली सभा-लघुकथा - Himal Post Himal Post
  • २१ आश्विन २०८१, सोमबार
  •      Mon Oct 7 2024
Logo

श्रद्धाञ्जली सभा-लघुकथा



– इसा शाह

मेरो टेबलमा एउटा निवेदन आएर पच्छारियो ,
” के हो यो ? ” मैले निवेदन हेर्दै आफ्नो अगाडी उभिएको नवललाई सोधेँ ।
” निवेदन । ”
” मैले तमिज सोधेको , यही हो निवेदन ल्याउने तरिका ? ”
” अब त्यो त जसले जे जानेकोछ त्यही गर्ने होइन र ? ”
” के चाहियो ? ”
” पढ्नुहोस् न निवेदन । ”
” ….. ! ” मैले केही नबोली उसलाई हेरेँ र निवेदन सर्सर्ती पढें । डी.जी. लाई श्रद्धान्जली दिनको लागि श्रद्धान्जली सभा आयोजना गर्न आवश्यक रकम उपलब्ध गराउन लेखिएको निवेदन रहेछ ।
” किन चाहियो रकम , हलमा मौन धारण गरे भैहाल्छ नि ! ”
” मैले हुन्छ हुन्न सोध्न आएको होइन , खुरुक्क यो निवेदनमा ….. ! ”
” तिमी मलाई धम्काउँदैछौ ? ”
” जे सोच्नुहोस् तर लेखा आ. का. नलेखी सुखै पाउनु हुन्न , नत्र फेरि उही हो डी. जी. साहबको पारा होला हि हि हि ….. ! ”
यस्तासँग के मुख लाग्नु सोचेर उक्त निवेदनमा लेखा , भैपरीबाट उपलब्ध गराउनु लेखेर दस्तखत गरेर उतिर सर्काई दिएँ । ऊ घिनलाग्दो हाँसो हाँसेर निवेदन मुठ्याएर मेरो कोठाबाट बाहिरियो । ऊ गएपछि मैले अस्तिको घटना सम्झें ।
म विदेश जाने साथीहरूको नाम भएको टिप्पणी फाइल बोकेर डी. जी. साहबको कोठामा पसेर ब्रिफिंग गर्दैथिएँ । नवल भित्र पस्यो ।
” कति कामले आयौ नवल ? ” डी.जी.ले सोधे ।
” सुन्दैछु साथीहरू विदेश जाँदैछन् रे ! ”
” हो । ”
” अनि हाम्रा साथीहरू कोही पनि परेनन् नि त ! ”
” घुम्न जान लागेको होइन , सेमीनारमा भाग लिन जान लागेको त्यसैले तल्लो तहका कर्मचारीलाई ….. ! ”
” मैले बुझेकोछु बरु भन्नु न को कोबाट कति लिनुभएकोछ ? ”
” नवल । ”
” किन चिच्याउनु भयो ? कि त्यो पैसा बाँड्नुहोस् कि हाम्रा साथीहरूलाई नि पठाउने व्यवस्था मिलाउनु होस् होइन भने ….. ! ”
” होइन भने के गर्छौ ? ”
” होइन भने म जेसुकै गर्न सक्छु । ”
” तिम्रो मतलब ? ” भन्दै उनी नराम्ररी जंगीए ।
” मेरो मतलब ….. ! ” भन्दै उसले मेरो हातमा भएको टिप्पणी थुतेर ध्यारधुर पारेर च्यातेर डी.जी.मुखमा फाल्यो र ऊ कोठाबाट निस्कियो । जुरुक्क उठेका डी.जी. देब्रे छाती माड्दै थचक्क बसे । उनको मुख अँध्यारो भयो ।
” सर हजुरलाई ….. । ”
” मलाई एक छिन एक्लै छोड्नुहोस् विप्लवजी ।” उनले भने ।
” हस् । ” भनेर कोठाबाट निस्किएँ ।
एकछिनपछि पी.ए.ले हल्ली खल्लि गरी । हेर्न जाँदा बुढा त सक्किएछन् !