कविता:समय मृत्यु पर्खिरहेछ - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

कविता:समय मृत्यु पर्खिरहेछ



शंकर भण्डारी 

 एउटा रंगहीन मृत्यु पर्खिरहेछ

समय थकित-थकित लाग्छ

नियतिको एकनासे उपक्रम ।

भित्तामा घुमिरहेछ सुईहरू संग

एकतमास

कुदिरहेछ मान्छेको नाडिमा समय।

घाम उदाउँछ, अस्ताउँछ

रात ढल्छ, उठ्छ

सधैं-सधैं एउटै गति

एउटै चालमा हिडिरहन्छ अल्छी

समय

कर्म गरिरहेछ उस्तै अनादिकालदेखि

समय आफू खुद हिसाब राख्दैन

केहिपनि

जान्दैन के-कति छोडेर आयो

ईतिहासमा

के-कति पाउने हो भविष्यमा

बस हिडिरहन्छ

एउटै गति

एउटै चालमा

मान्छेहरू नाप्छन

जोख्छन

हिसाब निकाल्छन समयको

समय बुझ्दैन आफै अंकगणित ।

मान्छेहरू सराप्छन समयलाई

गालि गर्छन आफ्नो अधोगतिमा

मानौ, समयले बिगारेको हो मान्छेलाई

बाधेको हो मान्छेको हातखुट्टा ।

समय मृत्युु पर्खिरहेछ

हारेकोछ आफ्नै नियतिसंग

कुरिरहेछ एउटा पूर्णविराम

खोजिरहेछ मुक्ति ।

समय आफै बेसहारा

कुदिरहेछ नियतिको चक्रमा

मान्छेहरू उसैसंग माग्दैछन बैशाखी

खै, कसले टागिदिएको हो समयको

निधारमा

नियतिको स्टिकर

खुरूखुरू हिडिरहेछ एकनास

पुग्ने ठाउँ थाहा छैन

बेखबर आफै लत्रिरहेछ समय

मान्छेहरू आफ्नै खबर सोधिरहेछन

उसैसंग

आफ्नो हतारमा मान्छेहरू

दोष दिन्छन समयलाई

आफ्नो पर्खाईमा

अौंला उठाउछन उसैमाथि

आफ्नै कर्मबाट हारेको समय

मृत्यु पर्खिरहेछ

एउटा लामो पूर्णविराम

एउटा रंगहिन मृत्युु