माधव नेपालको सल्लाहमै मुख्यमन्त्री बनेकी थिइन् अष्टलक्ष्मी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

माधव नेपालको सल्लाहमै मुख्यमन्त्री बनेकी थिइन् अष्टलक्ष्मी



काठमाडौं- बुधबार मात्रै नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेको खुलेको छ । मुख्यमन्त्री बन्ने अफर आएपछि शाक्यले नेता नेपाललाई भेटेर छलफल गरेको बताइएको छ ।

शाक्यनिकट एक नेताका अनुसार मंगलबार उनले माधव नेपालसँग मुख्यमन्त्रीको अफर आएकोबारे गरेकी थिइन्। त्यसमा माधव नेपालले पछिको कुरा नहेरी अहिले मुख्यमन्त्री बनिहाल्नुस् भनेको ति नेताहो दाबी छ । माधवले अघि बढ्नुहोस भनेपछि उनी मुख्यमन्त्री बन्न तयार भएको ति नेता बताउँछन् ।

उनका अनुसार माधव नेपालले नयाँ दल खोलेपछि आफू अल्पमतमा पर्नेबारे शाक्य जानकार थिइन् । फुटको असर बागमती प्रदेश सभामा पनि देखिने पक्का छ। बागमतीमा अहिले एमालेसँग सुविधाजनक बहुमत छ, तर माधवकुमार नेपालको नयाँ पार्टी बन्दै गर्दा त्यो बहुमत कायम नरहने लगभग निश्चित छ।

पछिल्लो समीकरणबारे नवनियुक्त मुख्यमन्त्री शाक्य स्वयं पनि जानकार छिन्। उनले बुधबार मुख्यमन्त्री नियुक्त हुँदै गर्दा आफुनिकटहरुलाई पनि यसबारे बताएकी थिइन्। उनले माधव नेपालको नयाँ पार्टी, नेकपा एमाले समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाउनसाथै उनको सरकार अल्पमतमा पर्नेछ। यो सबै जान्दाजान्दै उनी किन मुख्यमन्त्री बन्न तयार भइन् भन्ने सर्वत्र चासको विषय बनेको थियो ।

सबैतिर चासो हुँदैगर्दा यसको पछाडी अर्थपूर्ण कारण भएको भेटिएको छ । शाक्यनिकट नेताका अनुसार यसका पछाडि खास कारण छ। अहिले नै मुख्यमन्त्री नबदलेको भए माधव नेपालको अर्को पार्टी बन्नसाथै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँने पाका थियो ।

अविश्वास प्रस्तावसँगै मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने अवस्था हुन्छ । यदि अविश्वासको प्रस्ताव आएको खण्डमा मुख्यमन्त्री कांग्रेस वा माओवादीकै हुने निश्चित थियो । तर अहिले मुख्यमन्त्री बन्दा कांग्रेस र माओवादीले त्यो मौका पाउँदैनन्, एक महिनाभित्र अर्को समीकरण विकास गर्न वा अरुको समर्थन लिएर यही सरकारलाई निरन्तरता दिन सकिन्छ भनेर उनी मुख्यमन्त्री बनेको ति नेताको दाबी छ ।

पछिल्लो समय शाक्यले एकताको आवाज उठाएकाले शाक्यलाई ओलीले पनि विश्वास गर्ने अवस्था बनेको थियो । यहि मौकाको फाइदा उठाएर उनी मुख्यमन्त्री बनेको नेपाल समुहका नेताहरूको दाबी छ।

शाक्य को हुन् ?

एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन्। काठमाडौंको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धैरे समय राजनीतिमै बितेको छ। विसं २०५६ मा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभा सदस्यसमेत भइन्। उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी छन्।

शाक्य झण्डै चार दशकको राजनीतिक जीवनबाट अझै क्रियाशील छिन्। ६८ वर्षीय शाक्य २०३६ सालमा घर छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन्। भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलाममा पक्राउ परेकी थिइन् र त्यसपछि अखिल नेपाल महिला संघको अध्यक्षसमेत भइन्। उनी निरन्तररुपमा पार्टीमा सक्रिय महिला नेतृमध्ये एक हुन्।

मुख्यमन्त्री शाक्यको जन्म विसं २०१० को दशैँको अष्टमीका दिन काठमाडौंको हनुमानढोका दरबार स्क्वायर नजिकैको झोचेनमा भएको थियो। आमाबुवाका आठ सन्तानमध्ये उनी दोस्रो सन्तान् हुन्। मुख्यमन्त्री शाक्य र उनका पति अमृतकुमार बोहराबीच विसं २०३८ मा जनवादी विवाह भएको थियो। उनका एक छोरा र एक छोरी छन्।

भूमिगत राजनीतिकै क्रममा चिनजान भएका बोहरासँग शाक्यले विवाह गरेकी थिइन्। उनीसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन्। नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा आउने गर्दछ। शाक्यले विसं २०२८ मा एसएलसी पास गरिन्। एसएलसी दिएपछि शाक्यले चिनियाँ भाषा सिकिन्। किशोरावस्थामै राजनीतिक चेतना जागेकाले उनलाई चिनियाँ भाषा सिक्ने अवसरले राजनीतिमा जाने प्ररेणा मिलेको थियो।

उनले रत्नराज्य क्याम्पसबाट उच्च शिक्षाको अध्ययन थालेकी थिइन्। प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत रहँदा तत्कालीन शिक्षा अव्यवहारिक र ‘बुर्जुवा शिक्षा’ रहेको भन्दै अध्ययनलाई बीचमै छाडेकी थिइन्। मुख्यमन्त्री शाक्यले वामपन्थी बुद्धिजीवी महेशमान श्रेष्ठमार्फत साम्यवादका बारेमा प्रशिक्षण लिएकी थिइन्। चिनियाँ भाषाको ज्ञान भएकाले उनले माओत्सेतुङको जीवनी र चीनको पुनःनिर्माणमा उनको योगदानका बारेमा अध्ययन गरेकी थिइन्।

चिनियाँ भाषा सिकेपछि शाक्य चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको बताउँछिन्। उनले विभिन्न समयमा जेल जीवनसमेत बिताइन्। अखिल नेपाल महिला संघको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताइन्। विसं २०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला उनीसहित अन्य थुप्रै नेता पक्राउ परेका थिए। उनले जेल जीवन बिताउँदा झापामा सिस्नोपानी लगाएको बताइन्छ। प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेकी उनी विसं २०४६ मा देशमा बहुदल स्थापना भएपछि जेलमुक्त भएकी थिइन्।

शाक्यले २०३६ देखि २०४६ सालसम्म सिन्धुपाल्चोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आइन्। उनले तत्कालीन समयमा मेची अञ्चलको महिला संघको नेतृत्वसमेत गरिन्। उनले एमालेको मुस्लिम सङ्गठन, कानुन विभाग र संसदीय सुनुवाइ समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन्। एमालेको महिला सङ्गठनलाई मजबुत बनाउन शाक्यको विशेष भूमिका रहेको छ। तत्कालीन अवस्थामा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौं अधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन्।