जन्मदिनको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण
विशाल पाण्डेय / सुखड,कैलाली ।
जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै कैलालीको जोशीपुर गाउँपालिका -६ मा घर भएका वीरेन्द्र शाहले फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन् ।
मंगलबार आफ्नो २४ औँ जन्मदिनको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको राष्ट्रिय उच्च माबीमा बसोबास गरी अध्ययन गरीरहेका फरक क्षमता भएका बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेका हुन् ।
यसरी बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गर्दा आफुलाई एकदमै खुसी लागेको शाहले बताए । पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गर्ने बानिको बिकास हुदै गएको बताउदै उनले फजुल खर्च गर्नु भन्दा पनि सामाजिक क्षेत्रमा खर्च गर्दा उचित हुने भएकोले आफुले सानो सहयोग गरेको बताए ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको साटो यसरी विद्यालयमा आएर फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेकोमा शिक्षक जहरिलाल जैशी (भुसाल) ले शाहलाइ धन्यवाद व्यक्त गरे ।
बिगत लामो समयदेखि सुखडमा बसोबास गर्दै आइरहेका शाह पेशाले संचारकर्मी समेत हुन् । राष्ट्रिय उच्च माध्यमिक बिद्यालयमा १५ जना फरक क्षमता भएका बालबालिकाहरु त्यही बसोबास गरी अध्ययन गरीरहेका छन ।