बेल्जियममा पर्यटक धेरै आएपछि भ्रमणमा प्रतिबन्ध लगाइयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बेल्जियममा पर्यटक धेरै आएपछि भ्रमणमा प्रतिबन्ध लगाइयो



एजेन्सी – बेल्जियमको शहर ब्रुजले पर्यटकमाथि प्रतिबन्धको निर्णय लिएको छ ।

ब्रुजमा मध्यकालीन भवनहरू छन् । सन् २००० मा युनेस्कोले यो शहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

पर्यटकको संख्या नियन्त्रित गर्न खोज्ने युरोपको यो दोस्रो शहर हो । यसअघि नेदरल्यान्ड्सको एम्स्टर्ड्यामले पनि पर्यटकहरूको संख्या धेर भएपछि पर्यटकलाई लोभ्याउने विज्ञापनमा प्रतिबन्ध लगाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, शहर लोकप्रिय भएसँगै चुनौतीहरू पनि थपिन्छन् । ब्रुजका मेयर डर्क द फाले शहरमा पर्यटकको संख्या नियन्त्रण गराउने नियम ल्याएका छन् ।

स्थानीय पत्रिका हेत न्युजब्लादका अनुसार, जीब्रग पोर्टमा क्रुजको संख्या कम गरिनेछ । शहर जाने यातायातको संख्या पनि कटौती गरिनेछ ।

अहिले पार्टमा एकपटकमा पाँचवटा जहाज हुन्छन् । यसको संख्या घटाएर दुई बनाइएको छ । क्रुज कम्पनीहरूलाई सप्ताहान्तको साटो हप्ताको बीचमा जहाज उभ्याउन भनिनेछ । यसो गर्दा भीड ह्वात्त आउन रोक्न सकिन्छ ।

त्यहाँको पर्यटन बोर्डले पनि राजधानी ब्रसेल्स लगायत अन्य शहरमा विज्ञापन अभियान अन्त्य गर्ने बताएको छ । यसको उद्देश्य पर्यटकको संख्या कम गर्नु हो । फा भन्छन्, ‘हामी पर्यटकको संख्यामा नियन्त्रण गर्न चाहन्छु । मानिसको भीड हुने डिज्नील्यान्ड बनाउन चाहन्नौं ।’