खर्च कटौती गरौँ - छाया अर्थमन्त्री मिनेन्द्र रिजाल - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

खर्च कटौती गरौँ – छाया अर्थमन्त्री मिनेन्द्र रिजाल



काठमाडौँ –

सांसद तथा काङ्ग्रेसका ‘छाया अर्थमन्त्री’ मिनेन्द्र रिजालले बजेटमा अर्थ मन्त्रालयका लागि विनियोजन भएको रकम कटौतीको प्रस्ताव गरेका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा रिजालले ४,८६,००,००० घटाइ अघिल्लो वर्ष बराबर राख्‍न प्रस्ताव गरेका हुन् ।

ठोस योजना निर्माण गरी, ती योजनाका लागि मात्र बजेट विनियोजन गर्नुपर्ने भूमिका अर्थ मन्त्रालयको रहेता पनि, त्यस मामिलामा अर्थ मन्त्रालय असफल भएको आरोप उनले लगाए। चालु आर्थिक वर्षको भन्दा बढी खर्च आगामी आर्थिक वर्षका लागि नचाहिने रिजालको जिकिर थियो।

‘मनगढन्ते कुरा गर्ने प्रधानमन्त्रीका अगाडि उभिएर ‘प्रधानमन्त्रीजी, योजना तयारी भएपछि मात्र बजेटमा राखौं’ भन्न सक्ने नेतृत्वको अर्थ मन्त्रालयलाई खाँचो छ,’ उनले भनाइ थियो ।

आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ, ग्यासको सिलिन्डर नै किन्नु पर्दैन, भन्नेजस्ता तन्द्रामा दिने अभिव्यक्तिले देशको विकास नहुने उनले बताए ।

‘तन्द्रामा बसेर नेपालमा स्टीमर मात्र नभई हिन्द महासागरसम्म गएकै वर्षमा पानीजहाज चलाउँछु भन्दैमा विकास हुँदैन,’ उनले भने, ‘नेपालमा ८.५% आर्थिक विकास आवश्यक छ । त्यसमा अर्थ मन्त्रालयले नेतृतवदायी भूमिका निर्वाह गर्न सकेन ।’

‘ठूला र रणनीतिक आयोजना प्रधानमन्त्रीले प्रत्यक्ष हेर्ने हो भने किन चाहियो विभागीय मन्त्रालय ? किन चाहियो अर्थ मन्त्रालय ? प्रधानमन्त्री एक्लैले गरे पुग्छ भने किन परिवर्तन चाहियो ?’ ठूला परियोजनामा प्रधानमन्त्रीको संलग्नता बारे उनको टिप्पणी थियो।