अमेरिकी सेनामा पनि कोरोनोभाइरसको संक्रमण - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अमेरिकी सेनामा पनि कोरोनोभाइरसको संक्रमण



काठमाडौं- दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सेनामा पनि कोरोनोभाइरसको संक्रमण देखिएको छ।

कोरिया चीनपछि सबैभन्दा बढी कोरोनाको संक्रमण देखिएको राष्ट्र हो। क्याम्प क्यारोल सैन्य क्याम्पमा खटेका एक २३ वर्षीय अमेरिकी सेनामा कोरोनाको संक्रमण देखिएको सीएनएनले जनाएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार यतिबेला उनी क्याम्प भित्रै क्वारेन्टाइनको नियम पालना गरिरहेका छन्। कोरियामा पहिलो अमेरिकी कोरोनाबाट संक्रमित बनेको बताइएको छ।

बुधबार बिहानको तथ्यांकअनुसार कोरियामा हालसम्म ११ सय ४६ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ मृतकको संख्या १२ पुगेको छ।

थेगु शहरका मेयरका अनुसार कोरियामा अन्तिमपटक मृत्यु भएका कोरियाली ७३ वर्षका वृद्ध हुन्। उनी सिनचियोन्जी चर्चका सदस्य हुन्।

दक्षिण कोरियामा पहिलोपटक यसै सिनचियोन्जी चर्चबाट कोरोनाको संक्रमण फैलिएको थियो। हालसम्म कोरियामा संक्रमितमध्ये ६० प्रतिशत सोही चर्चका सदस्य भएको बताइएको छ। यस चर्च थेगुमा अवस्थित छ जुन शहरलाई कोरियामा सबैभन्दा बढी खतराको रुपमा हेरिएको छ।

ग्योङस्याङ प्रान्तमा कोरोनाको संक्रमण बढ्दै गएपछि सोही प्रान्तको थेगु शहरमा रहेका चर्चका २ लाख १५ हजार सदस्यमा कोरोनाको संक्रमण परिक्षण हुने भएको छ।

कोरियाली सरकारको यस निर्णयलाई उक्त चर्चले स्वागत गरेको दक्षिणकोरियाली संचारमाध्यमले जनाएका छन्।

मंगलबार बिहानसम्म विश्वभर कोरोनाको संक्रमण ८० हजार ९८२ जनामा देखिएको छ। मृतकको संख्या २७ सय ६३ पुगिसकेको छ।

चीनमा मात्र ७८ हजार ६४ संक्रमित छन् त्यहाँ मृतकको संख्या २७ हजार १५ पुगेको छ।