पत्र बाहिरिएपछि नेपाली सेनामा तनाव, बोलाइयो आकस्मिक बैठक - Himal Post Himal Post
  • २९ आश्विन २०८१, मंगलवार
  •      Tue Oct 15 2024
Logo

पत्र बाहिरिएपछि नेपाली सेनामा तनाव, बोलाइयो आकस्मिक बैठक



काठमाडौ- अमेरिकालाई पठाएको पत्रले नेपाली सेनामा तनाव उत्पन्न भएको छ । विज्ञप्तिलगत्तै पत्र बाहिरिएपछि नेपाली सेनाले आकस्मिक बैठक बोलाएको छ । विवादित बन्दै गएको अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम (एसपीपी) मा सहभागीका लागि पठाइएको पत्र आजमात्रै बाहिरिएको थियो ।

पत्र बाहिरिए लगत्तै उक्त पत्रबारे छानबिन र सत्यता जाँच गर्न नेपाली सेनाको हेडक्वार्टरमा आकस्मिक बैठक बसेको छ । नेपाली सेनाले पठाएको भनिएको पत्रबारे बैठकमा छलफल हुने बताइएको छ। उक्त पत्र सार्वजनिक भएपछि सेनाले बैठक डाकेको हो।

एसपीपी सम्झौताबारे प्रक्रिया शुरु नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग साझेदारी नगर्ने प्रतिबद्धता जनाएकै भोलिपल्ट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएको थियो।

तर सार्वजनिक भएको पत्रको आधिकारिकता शंकास्पद छ। सेनाले पठाएको भनिएको पत्रमा सेनाले प्रयोग गर्ने लोगो मिलेको भने छैन। एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको दुई सातामा भएको सम्झौता भनिए पनि त्यो पत्र कुन मन्त्रिपरिषद्को निर्णयबाट लेखिएको हो त्यो खुल्न सकेको छंन। पत्रमा २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएको १५ दिनपछि लेखिएको छ।

यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि सेनाले बुधबार त्यसको खण्डन गरेको थियो।

सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले हस्ताक्षर गरेका छन्। हालै अमेरिकी सेनाका प्यासिफिक कमाण्डर नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय चर्चामा छ।