एसईई प्रश्नपत्र : प्रहरीले चाेरे, शिक्षकले बेचे - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एसईई प्रश्नपत्र : प्रहरीले चाेरे, शिक्षकले बेचे



प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)काे विज्ञान र सामाजिक विषयकाे प्रश्नपत्र प्रहरीले चाेर्ने र शिक्षकले बेचेपछि बाहिरिएकाे अनुसन्धानमा खुलेकाे छ।

नेपाल प्रहरीले एक जना शिक्षक र दुई प्रहरी जवानसहित ६ जनाविरुद्ध एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा कारबाही थालेपछि यसबारे थप खुलासा भएकाे हाे।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटना विवरण सार्वजनिक गरेको हो।

प्रदेश २ प्रहरीको सहयोगमा भएको अनुसन्धानमा सप्तरीको राजविराजका शिक्षक मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलविरुद्ध कारबाही थालेको हो। आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान हुन्।

उनीहरुले चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए।

अनुसन्धानमा विष्णुदेव यादवले आफ्ना भाइ ब्रह्मदेवमार्फत प्रश्नपत्र प्राप्त गरेका थिए। विष्णुदेवले आफूले पाएको प्रश्नपत्र शिक्षक मनोजसहित अन्यलाई सप्तरीमा बेचबिखन गरेका हुन्।

प्रश्नपत्र आउट भएसँगै प्रदेश २ काे एसइइका सम्पूर्ण परीक्षा रद्द गर्नुपरेकाे थियाे।