एसईई परीक्षामा कैलालीबाट १६ हजार ६ सय ६३ विद्यार्थी सहभागी हुँदै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एसईई परीक्षामा कैलालीबाट १६ हजार ६ सय ६३ विद्यार्थी सहभागी हुँदै



गोविन्द बीसी/बौनिया

शिक्षा बिकास तथा समन्वय इकाई कैलालीले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी तीब्र पारिएको जनाएको छ ।

आगामी चैत्र १० गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षामा कैलालीबाट कुल १६ हजार ६ सय ६३ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ साधारणधारका १५ हजार ७ सय ९६ मध्ये ८ हजार १ सय २३ छात्र र ७ हजार ६ सय ७३ जना छात्रा सहभागी हुनेछन् ।

प्राविधिक धारका २ सय ४२ मध्ये १ सय ४५ छात्र र ९७ जना छात्रा सम्मिलित हुने शिक्षा बिकास तथा समन्वय इकाई कैलालीकी प्राविधिक सहायक पार्वती चौधरीले जानकारी दिइन् ।चौधरीका अनुसार एक्जेम्टेडतर्फ ६ सय २५ जना सहभागी हुनेछन् । परीक्षा केन्द्रमा अधिकतम ५ सय ३८ जना र न्यूनतम १ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षाका लागि जिल्लामा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका तथा जनशक्ति ब्यवस्थापनको काम भइरहेको छ । परीक्षाका लागि जिल्लामा सबै सामाग्रीहरु आइपुगेको र फागुन मसान्तभित्र सबै परीक्षा केन्द्रमा सामाग्री पुर्याइसक्ने शिक्षा बिकास तथा समन्वय इकाई कैलाली प्रमुख (उप–सचिव) विष्णुदत्त भट्टले जानकारी दिए ।

जिल्लामा रहेका २ सय ६८ माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थी परीक्षामा सामेल हुनेछन् ।परीक्षाका लागि ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थी संख्या, भौगोलिक अवस्था र माग अनुसार मोहन्याल गाउँपालिका स्थित जनता आधारभूत बिद्यालय, बर्दगोरिया गाउँपालिका स्थित मावि कोटातुल्सीपुरमा यसवर्ष परीक्षा केन्द्र थप गरिएको छ । यस्तै, ग्रेडबृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीहरुका लागि धनगढी स्थित नवदुर्गा मावि मोहना केन्द्र तोकिएको छ ।

जिल्लाभर यसवर्ष झण्डै १ हजार बिद्यार्थी संख्या बढेको शिक्षा बिकास तथा समन्वय इकाईले जनाएको छ ।

त्यसैगरी, प्रत्येक परीक्षा केन्द्रमा १ जना केन्द्राध्यक्ष रहनेछन्, बिद्यार्थी संख्याका आधारमा ३ सय सम्म रहेको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष, ३ सय बढीमा दुईजना सहायक केन्द्राध्यक्ष खटाइने भएको छ । परीक्षा केन्द्रमा २५ जना बराबर १ जना निरीक्षक जनशक्ति खटाइने उप–सचिव भट्टले जानकारी दिएका छन् ।
सरकारले नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ मा सञ्चालन गर्ने उल्लेख भएपछि २०७३ सालदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) का रूपमा परीक्षा लिन थालिएको हो । एसईई परीक्षालाई यसबर्ष पनि केन्द्र सरकारकै मातहबाट सञ्चालन गर्न लागिएको छ ।