चैत १० बाट एसईई : तयारी पुरा, यस्तो छ अबस्था - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चैत १० बाट एसईई : तयारी पुरा, यस्तो छ अबस्था



आगामी १० चैतबाट सुरु हुने यस बर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी पुरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्ष देशभरबाट ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्र छन् ।

साधारण तर्फ ४ लाख ६५ हजार ६ सय ६० र प्राविधिकतर्फ ९ हजार ३ सय ४३ जना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सात वटै प्रदेशमा एसईई परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार देशभर १ हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिने छ । जसमा प्रदेश १ मा ३७२ केन्द्र, २ मा २६२, ३ मा ४१८, गण्डकी प्रदेशमा २१७, प्रदेश ५ मा ३२३, कर्णाली प्रदेशमा १६९ र सुदुरपश्चिममा २०८ परीक्षा केन्द्र तोकिएको छ ।

हरेक केन्द्रमा एक एक जना केन्द्राध्यक्ष रहनेछन् । उपनियन्त्रक शर्माका अनुसार प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पु¥याइसकेको जानकारी दिए । साथै परीक्षालाई मर्यादित बनाउन सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला पक्षहरुले अनुगमन गर्नेछन् ।

शिक्षा मन्त्रालयले २०७२ सालदेखि एसएलसी परीक्षाको नतिजामा लेटर ग्रेडिङ प्रणाली लागु गरेको छ । जसका उच्च अंक ल्याउने विद्यार्थीलाई ए प्लस, ए, बी प्लस, बी, सी, डी, ई को आधारमा मार्कसिट प्रदान गरिनेछ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ’सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत आंशिक परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

आंशिक परीक्षार्थीका रुपमा यस बर्ष १५ हजार ४ सय ७४ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमध्ये २०७३ साल भन्दा अगाडिका ५ हजार ८ सय ८३ जना विद्यार्थी छन् ।