साउदीमा एक नेपालीलाई मृत्युदण्ड दिइयो - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

साउदीमा एक नेपालीलाई मृत्युदण्ड दिइयो



काठमाडौं : साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ।

मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो।

मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो।

साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए।

‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं। तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो। जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो।’

विवेक दाहालले सन् २००७ फेब्रुअरी २ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए।

विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो। उनीमाथि पशु करणी गरेको आरोप लागेको थियो।