शौचालय प्रयोग गर्न दिनेलाई कर छुट नदिइने, यसो भन्छन् बालेन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

शौचालय प्रयोग गर्न दिनेलाई कर छुट नदिइने, यसो भन्छन् बालेन



काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन्।

शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको उनले प्रष्टाएका छन्।

‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज उनले भने, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न। रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने उनले बताएका छन्। महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उनले बताए।

उनले कार्यालयका सार्वजनिक शौचालय भने कार्यालय खुलेको बेला मात्रै खुल्ने बताए। महानगरले बनाएका सार्वजनिक शौचालय भने २४ सै घन्टा खुल्ने पनि उनले बताए।