जे पनि गरेर सत्तामा पुग्ने ‘सत्ताका सदाबहार सौदागर’
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को कलंकको टिका लगाउने तयारी गरेका छन् । नयाँ सरकार बनाउने म्यान्डेट सहित निर्वाचन सम्पन्न भएको बेला देउवाले अत्यन्तै विवादास्पद निर्णय गर्न लागेका छन् ।
देउवा नेतृत्वको सरकारले विवादास्पद अध्यादेश ल्याउने निर्णय गरेपछि पार्टी भित्र र बाहिर चर्को आलोचना भइरहेको छ । ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने अत्यन्तै हानिकारक निर्णय लिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अपराध संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । खासगरी टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चोख्याउने प्रयोजनका लागि सरकारले अध्यादेश ल्याएको हो ।
अध्यादेशको चर्को आलोचना भइरहेको छ । आफ्नै पार्टीदेखि विपक्षिसम्म देउवाको आलोचना गर्न थालेका छन् । यस्तैमा नेकपा एमालेका नेता विष्णु रिजालले उनलाई सत्ताका सदाबहार सौदागर उपमा दिएका छन् । आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लागेको बताएका छन् ।
उनले भनेका छन्, ‘जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ ।
माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?’