पार्टी एकता: अनगिन्ति वार्ता, छेपारोको उखान ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

पार्टी एकता: अनगिन्ति वार्ता, छेपारोको उखान !



काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच दिनभरमा दुई पटक एक्लाएक्लै वार्ता भए पनि बिहीवारको महत्वपूर्ण भनिएका ती वार्ता एकताबारे अन्तिम सहमति नजुटेको बताइएको छ।

वार्ता सकारात्मक भए पनि विषयवस्तुहरुमा अझै छलफल आवश्यक रहेको भन्दै दुबै नेता बाहिरिएको उनीहरु निकट नेताहरुले बताएका छन्।

तर छलफलमा अध्यक्षस्तरबाट मिलाउनु पर्ने विषय टुङगिएको एकजना माओवादी नेताले दावी गरेका छन्।

बुधवार आफ्नो पार्टी बैठकमा दुई अध्यक्षका बीचमा भएको वार्ताका प्रगति र बाँकी रहेका विषयमा जानकारी गराएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार दुई अध्यक्षका बीचमा हुने छलफलले बाँकी विषय टुङगो लगाउने बताएका थिए।

सोही अनुरुप बिहानै प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

दुई जना अध्यक्षका बीचमा बिहान र साँझ गरेर दुई पटक सम्म छलफल भए पनि एकताबारे सहमति जुट्न नसकेको बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले भने, “सकेसम्म आजै निष्कर्षमा लैजाने भन्ने दुबै अध्यक्षको थियो तर केही विषयबस्तुहरुमाथि अझै छलफल बाँकी रहेको र त्यसलाई निरन्तरता दिएर छिट्टै टुङग्याउने भन्ने सहमति भएको छ भनेर अध्यक्षले भन्नु भएको छ। ”

छलफल

नेकपा माओवादी केन्द्र र नेकपा एमालेका वरिष्ठ नेताहरूबीच पार्टी एकताबारे पटक पटक छलफलहरू भएका थिए
प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले “नमिलेको विषय केही छैन, कुरा नटुङगिएको मात्रै हो” भने।

उनले “छलफल जारी छ, टुङगोमा नपुगे सम्म भन्ने कुरा केही नभएको” पनि बताए।

तर माओवादी केन्द्रका नेता जनार्दन शर्माले दुई जना अध्यक्षका बीचमा भएको छलफलमा अध्यक्ष स्तरबाट मिलाउनु पर्ने विषय टुङगिएको बताएका छन।

उनले भने, “एकताको प्रतिवेदन माथि मिलाउन बाँकी विषयहरुलाई आज आफुहरुले अन्तिम टुङगोमा पुराएको अध्यक्ष प्रचण्डले मसँग भएको कुराकानीमा जानकारी गराउनु भएको छ।”

केपी ओलीसँगको पहिलो चरणको वार्तापछि माओवादी अध्यक्ष प्रचण्ड एमाले नेता माधव कुमार नेपाललाई भेटन उनकै निवासमा पुगेका थिए।

नेतृत्वको सुनिश्चितता

प्रचण्डले एकता महाधिवेशन पछिको नेतृत्वको सुनिश्चितता खोजिरहेको भन्ने खबरका माझ नेतृत्वका दावेदार मानिएका एमाले नेतासँगको भेटमा त्यो विषयले प्रवेश नपाएको बताइएको छ।

नेपाल निकट एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले भने, “छलफलमा त्यो विषय त उठेन, तर यतिको राजनीतिक दल निर्माण गरेर आएको नेताले महाधिवेशनले कसरी नेतृत्व चयन गर्छ भन्ने अनभिज्ञता राख्नु हुन्छ र यस्तो आग्रह राख्नु हुन्छ जस्तो लाग्दैन।”

एकता पछिको केन्द्रिय समिति लगायतका समितिहरुमा दुबै पार्टीको प्रतिनिधित्व कति कति संख्यामा गराउने, चुनाव चिन्ह के राख्ने, माओवादीले विगतमा गरेको सशस्त्र संघर्षलाई विधानमा कसरी राख्ने भन्ने जस्ता विषय मिल्न बाँकी रहेको भन्दै एकता संयोजन समितिले दुई जना अध्यक्षलाई जिम्मेवारी दिएको थियो। (बीबीसी)