भोलिदेखि नै सरकारले ७ सय बस चलाउँछ : मन्त्री महासेठ - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

भोलिदेखि नै सरकारले ७ सय बस चलाउँछ : मन्त्री महासेठ



काठमाडौं। यातायात व्यवसायीहरुले भोलि सेवा बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले सेवा बन्द गरे आँफैले गाडी चलाउने चेतावनी दिएको छ । सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् ।

उनीहरुले भोलि यातायात सेवा नै बन्द गर्ने धम्की दिएका छन् । यातायात व्यवसायीहरुले भोलि सेवा बन्द नै गरे भने सरकारले आँफै गाडी चलाउने भएको छ ।

बिहीबार साँझ पत्रकार ऋषि धमलासँगको कुराकानीमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रघुवीर महासेठले भोलि व्यवसायीहरुले सेवा बन्द गरे यात्रुहरुको सुविधाको लागि सरकार आँफैले ७ सय बस सञ्चालनमा ल्याउने जानकारी दिए ।

उनले भने,”यातायात व्यवसायीहरुले सेवा बन्द गरे, हामी चुप लागेर बस्दैनौं, सरकारले बस चलाउँछ, हामी करिब ७ सय बस सञ्चालन गर्छौ, सम्पूर्ण तयारी अवस्थामा छौं । यात्रुहरुलाई सेवाबाट हामी बञ्चित गर्दैनौं ।”

सरकारले जसले सेवा रोक्छ उसको रुट परिमिट तत्काल खारेज गर्नेसम्मका कडा सन्देश आजै दिएको छ । कम्पनीका नामबाट संचालित सवारीसाधनले आफ्नो सेवालाई शुक्रबार निरन्तरता दिने भएका छन्।

विभिन्न समितिमा आबद्ध सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले भोलि शुक्रबार सवारीसाधन बन्द गर्ने निर्णय गरेका बेला कम्पनीमा आबद्ध भएका सवारीसाधन सेवा दिन तयार भएका हुन्।

यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन्।

सिन्डिकेट विरुद्ध सरकारी निर्णयको विरोध गर्दै आएका समिति आवद्ध व्यवसायीहरुले भोलि सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै मन्त्री महासेठको ठाडो निर्देशनमा विभागले कम्पनीमा दर्ता भएका व्यवसायी र ट्राफिक प्रहरीसँग गाडी संचालनका सम्वन्धमा छलफल गरेको थियो।

तर नेपाल यातायत व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारसँग आफूहरुको कुरा नमिलेको दाबी गर्दै भोलि हडताल गर्ने चेतावनी दिए ।