सर्वेन्द्र खनाल राजनीतिमा: नेकपा एमाले प्रवेश गर्दै - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सर्वेन्द्र खनाल राजनीतिमा: नेकपा एमाले प्रवेश गर्दै



काठमाडौं- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने भएका छन्।

पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) खनाल केहिदिन यता एमालेमा प्रवेशको लागि लबिङमा थिए । अध्यक्ष ओलीको निकट रहेका खनाल पदमा रहँदा र अवकाशपछि पनि पटक पटक विवादमा परेका थिए ।

ओली प्रधानमन्त्री हुँदा खनालकै नेतृत्वमा जसपाका नेतालाई अपहरण गरी काठमाडौं ल्याइएको आरोप लागेको थियो । ओलीले आन्तरिक काममा खटाउने गरेका खनाल अन्ततः एमालेमै प्रवेश गर्न लागेका हुन्।

खनाल एमालेमा प्रवेश गर्न लागेको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पुष्टि गरेका छन् । ओलीले केही दिनभित्रै खनाललाई पार्टीमा प्रवेश गराउने तामाङले बताएका छन् ।

आइजीपी नियुक्त हुँदादेखि नै खनाल प्रहरीको रासनदेखि पोशाकमा अनियमितता गरेको भन्दै विवादमा परेका थिए। ओली प्रधानमन्त्री हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा उनलाई ओलीले नै आइजीपी नियुक्त गरेका थिए।

खनाललाई आइजीपी बनाइएपछि प्रहरीका होनहार अफिसर मानिने रमेश खरेलले राजीनामा दिएका थिए।