सर्लाहीमा एकीकृत समाजवादीलाई ठूलो धक्का, अधिकांश पदाधिकारी र नेता एमालेमै फर्किए
सर्लाहीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारीहरूले पार्टी छोडेका छन् ।
पार्टी र पार्टी नेतृत्वलाई विभिन्न आरोप लगाउँदै एकीकृत समाजवादी छोडेका नेताहरू नेकपा एमालेमै फर्किएका छन् । शुक्रबार जिल्लाका उपाध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किएको भन्दै विज्ञप्ति नै जारी गरेका छन् ।
एमालेमा फर्कनेहरूमा जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरुको नाम छ ।
उनीहरूलाई एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहसहितकाले उनीहरुलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका छन् । मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी उनीहरूलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष राय र सचिव अधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफूहरु एमालेमै फर्किएको बताएका छन्।
विज्ञप्तिमा पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको पनि भनिएको छ ।