गाउँपालिका अध्यक्षले भाडामा लगाउँछन् सरकारी गाडी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गाउँपालिका अध्यक्षले भाडामा लगाउँछन् सरकारी गाडी



कालिकोट : सडक संजालले नजोडिएको जिल्लाको नरहरिनाथ गाउँपालिकाले खरिद गरेको गाडी दुरुपयोग हुने गरेको छ। कर्णाली राजमार्गको हुल्मदेखि पार्किङ राखिने गरेको भे १ झ २८४ नम्बरको गाडी ड्राइभरले भाडामा चलाउने गरेका छन्।

सरकारी गाडीलाई उक्त सवारीसाधनलाई आफन्त र अन्यले पनि दुरुपयोग गर्ने गरेको स्थानीयले बताएका छन्। कहिले गाडी गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टका छोरा र गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाका आफन्तले आफूखुशी चलाउने गरेका छन्। सरकारी गाडीमा शुक्रबार बेलुका ६ बजेपछि यात्रुलाई भाडामा संचालन गरेको एक स्थानीयले नाम नबताउने सर्तमा बताए। ‘क्षमताभन्दा बढी यात्रु बोकेर सरकारी गाडी निकै जोडले हुइँकिएको थियो’ उनले भने,‘कतै दुर्घटना हुन्छ कि भनेर चिन्तामा थियौं।’

कर्णाली राजमार्गको हुल्मदेखि कालिकोटका सदरमुकाम मान्मसम्म सार्वजनिक सवारी साधनले १०० रुपैयाँ भाडा लिने गरेको भए पनि गाउँपालिकाको सरकारी गाडीले २०० रुपैयाँ भाडा लिने गरेको सरकारी गाडीमा सवार एक यात्रुले बताए। ‘सरकारी गाडीले निशुल्क लैजाला भनेर गाडीमा चढियो।’ उनले भने,‘सार्वजनिक सवारी साधनले लिनेभन्दा गाउँपालिकाको गाडीले दोब्बर भाडा लिँदोरहेछ।’ गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

फोटो : थाहाखबर