श्रीमान् र परिवारका अन्य सदस्यले सरिताको हत्या गरेको आशङ्का
बनेपा– मण्डन देउपुर नगरपालिका–६, काभ्रे सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा उनका श्रीमान्ले परिवारका अन्य सदस्यसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
सरिताका श्रीमान् सुदीपले आफूले हत्या गरेको स्विकारेता पनि घटनाको प्रकृतिले परिवारका अन्य सदस्यहरूको संलग्नता देखिएकाले उनीहरूलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए ।
सरिताका श्रीमान् सुदीप, ससुरा पिताम्बर, सासू गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई हिरासतमा राखी अनुसन्धान गर्न सोमबार १० दिनको म्याद थप गरेको छ । घाँटीमा नीलडाम भएको अवस्थामा वैशाख १३ गते घरमै सरिताको शव फेला परेको थियो ।
हत्या अघिल्लो दिन राति भएको र परिवारले प्रहरीलाई भोलिपल्ट मात्रै खबर गरेको अनुसन्धानबाट खुलेको
छ ।
श्रीमान् सुदीप फरार हुनु, भुइँतलामा बस्ने गरेकी सरिताको घाँटीमा डोरीको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, घरका अन्य सदस्यले सरिता मृतअवस्थामा भेटिएको खबर बिहान १० बजे मात्रै प्रहरीलाई गर्नुले हत्या गरेको हुनसक्ने जनाउँदै मृतकका दाजु कृष्णप्रसाद दाहालले वैशाख १३ गते नै प्रहरीमा जाहेरी दर्ता गरेका थिए ।
सोही आधारमा त्यही दिन गाउँ छाडेर भाग्ने तरखरमा रहेका सुदीप तथा परिवारका अन्य सदस्यलाई पक्राउ गरेको थियो । घटना शङ्कास्पद भएकाले प्रहरीले शिक्षण अस्पताल काठमाडौँमा मृतकको शव परीक्षण गराएको छ । सो परीक्षण रिपोर्टले पनि श्रीमान् एक्लैले सरिताको हत्या नगरेको देखाएको छ ।
सुदीप २ वर्षदेखि मानसिक रोगी भएको स्थानीयले बताएका छन् । सुदीप र सरिता घरको भुइँतलामा बस्थे र खाना बाबुआमासँग नखाई अलग्गै खान्थे।