‘म्याच फिक्सिङ’ र घैंटे' जस्ता काण्डले खरेललाई ‘ओभरटेक’ गरेका सर्बेन्द्र - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

‘म्याच फिक्सिङ’ र घैंटे’ जस्ता काण्डले खरेललाई ‘ओभरटेक’ गरेका सर्बेन्द्र



काठमाडौं– नेपाल प्रहरीमा इन्सपेक्टरको ४६ सालको ब्याचमा धेरै क्षमतावान प्रहरी अधिकृतहरु थिए। जस कारण काम र बढुवामा सधैं उनीहरुबीच टक्कर चलिरह्यो।

इन्सपेक्टरमा राजेन्द्रमान श्रेष्ठ १ नम्बर थिए। डिएसपी बढुवामा रमेश खरेलले बाजी मार्दै आफ्नो ब्याचमा १ नम्बरमा बढुवा भए। डिएसपी हुँदासम्म खरेल मध्यम प्रहरी अधिकृत थिए। एसपीमा पनि उनी पहिलो नम्बरमै बढुवा भए। एसपीको पदमा उनले छुट्टै छवी बनाए। खरेलले दबाब र लाभको ‘पुलिसिङ’बाट मुक्त भएर ‘हिरो प्रहरी’को छवी बनाए। प्रहरी पनि समाजमा हिरो बन्न सक्छ भन्ने उदारण बने। जसले प्रहरीमा राम्रो काम गर्ने र चर्चित बन्ने लहर नै ल्यायो।

सोही कारण एसएसपीमा पनि उनलाई कसैले पछि पार्न सकेन। हुन त उनले सिनियर ब्याचसँगै एसएसपीमा बढुवाको प्रयास गरेका थिए। तर, त्यसमा उनी सफल हुन सकेनन्। खरेलको उग्र कार्यशैलीबाट नेताहरु पनि रुष्ट बनेका थिए।

एसएसपीको भूमिकामा रहँदा भने खरेल चम्किन सकेनन्। एसएसपी भएपछि खरेलले लामो समय सुनाडमा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेर बिताए। त्यही समयमा उनका अन्य प्रतिस्पर्धी नेपालमा चम्किँदै गए। फलस्वरुप गत भदौमा भएको डिआइजी बढुवामा खरेल पछि परे। सर्वेन्द्र खनालले खरेललाई पछि पारेका थिए। खनालको त्यही ‘ओभरटेक’ नै ८ महिनापछि आइजिपीका लागि आधार बन्यो। १ नम्बरमा डिआइजी बढुवा भएकैले बरियताका आधारमा सरकारले खनाललाई आइजिपी नियुक्ति गरेको छ।

स्रोतका अुनसार प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा खनालभन्दा खरेल र पुष्कर कार्की थिए। तर, गत वर्ष सिनियरलाई आइजिपी नबनाएको भनेर नवराज सिलवालको पक्षमा एमालेले वकालत गरेको थियो। जसकारण यसपटक बरियता मिचेर आइजिपी बनाउन ओली सरकारलाई नैतिक रुपमा गाह्रो थियो। सोही नजिरले सर्वेन्द्रलाई प्रहरीको २६औं आइजिपी बनाएको छ।

एसएसपीका रुपमा खनालले अपराध अनुसन्धानमा महत्वपूर्ण काम गरेका थिए। उनले फुटबलमा भएको म्याच फिक्सिङदेखि ठूला संगठित अपराधको अनुसन्धानमा सफलता पाएका थिए।

म्याच फिक्सिङको पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

खनालले महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हालेका बेला नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेका थिए । उनको नेतृत्वमा भएको अनुसन्धानले सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो ।

सो प्रकरणमा नेपाली फुटबलका तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी, एक पूर्वप्रशिक्षक लगायतविरुद्ध मुद्दा चलाइएको थियो ।

म्याच फिक्सिङ प्रकरण सार्वजनिक भएपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बंगबन्धु गोल्डकपको उपाधि जित्दा खनाललाई बधाईको ओहिरो लागेको थियो ।

नेपाली फुटबललाई प्रहरीको सो अनुसन्धानमा ट्याकमा ल्याएको फुटबलप्रेमीहरुले ठहर गरेका थिए ।

महाशाखामै रहँदा उनले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर गरेका थिए । घैंटे सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने लगायतका कार्यमा संलग्न थिए ।

सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समूहबीच भएको मुठभेडका क्रममा उनी मारिएका थिए ।

भारतले नाकाबन्दी लगाएका बेला उनले पेट्रोल पम्पहरुको ठगी धन्दाविरुद्ध पनि अप्रेशन चलाएका थिए । उनले पेट्रोल पम्पहरुले चिप्स जोडेर रिमोटबाट १ सय लिटरमा ३ देखि ४ लिटर पेट्रोल ठगी हुने गरेको रहस्य सार्वजनिक गरेका थिए ।

त्यस्तै, उनले काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुकमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास गरेका थिए । त्यसबेला उनले गरेको अप्रेशनका कारण थुप्रै कन्सल्टेन्सी व्यवसायीहरु वैधानिक बाटोमा आएका थिए ।

प्रहरीले अप्रेशन चलाउनुअघि काठमाडौंमा १ सय ३० वटा कन्सल्टेन्सी मात्र वैधानिक रुपमा दर्ता भएकोमा अप्रेशनपछि ११ सय कन्सल्टेन्सी दर्ता भएका थिए । महाशाखामै रहँदा उनले हुण्डी कारोबारीविरुद्ध समेत कदम चलाएका थिए ।

संकलन: सामाजिक सञ्जाल, पत्रपत्रिका