सरकारको कामबाट प्रधानमन्त्री नै असन्तुष्ट - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सरकारको कामबाट प्रधानमन्त्री नै असन्तुष्ट



‘मन्त्री र सचिवलाई चेतावनी अब सुध्रिनुस्, नत्र मैले कदम चाल्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको कार्यशैली उत्साहजनक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार सुरु सरकारको चौमासिक समीक्षा बैठकमा पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको पहिलो चौमासिक प्रतिवेदन हेरेपछि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । आजको नयाँ पत्रीकामा खबर छ ।

‘अहिलेको कार्यशैलीले जनतामा निराशा मात्रै आउँछ । जनतामा निराशा आउनु राज्यलाई घातक हुन्छ,’ बैठकमा मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने, ‘नागरिकमा उत्साह र सरकारप्रति विश्वास बढ्ने गरी काम गर्नुस् । अहिलेको कार्यशैली ठीक भएन ।’

उनले मन्त्रालयको कामबाट सरकार र देशलाई के प्रतिफल मिल्यो भन्दै मन्त्रीहरूलाई प्रश्नसमेत गरेका छन् । ‘बर्सेनि विदेशबाट अर्बौँ मूल्यबराबरको चामल आयात भइरहेको छ, कृषिमा के सुधार हुँदै छ ?’ कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिन प्रधानमन्त्रीले निर्देशन दिए ।

उनले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको पनि आलोचना गरे । ‘सामान्य नक्सा बनाउन पनि कन्सल्ट्यान्ट खरिद गर्ने शैली ठीक हो ? यो बन्द हुनुपर्छ,’ ओलीले भने, ‘समस्या समाधान गर्नेतिर ध्यान छैन । समस्या बढाउने, बल्झाउने र अलमल्याउनेतिर ध्यान गइरहेको छ । यो कार्यशैलीले काम हुन सक्दैन । अब सुध्रिनुस्, नत्र मैले कदम चाल्नुपर्छ ।’

सरकारको सेवाभित्र रहेका जनशक्तिले गर्ने कामका लागि अतिरिक्त खर्च नगर्न पनि प्रधानमन्त्रीको निर्देशन छ । उनले तर, पनि, यदि जस्ता शब्द प्रयोग गरेर जिम्मेवारीबाट नपन्छिन सचेत गराएका छन् ।

‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुस्,’ मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘आफ्ना कमजोरीलाई तर्कको लिउन हालेर कसैले पनि टाल्न नखोज्नुहोस् ।’ पुरानै ढाँचा, पुरानै बानी नहटेको भन्दै उनले अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य नहुने बताए ।

कुनै समस्या आए मन्त्रिपरिषद्मा आउन प्रधानमन्त्रीले सुझाए । ‘मन्त्रिपरिषद्मा समस्या ल्याउनुस्, स्पष्ट पारेर पठाइदिन्छौँ, तर अनेक बहानामा समस्या बल्झाउने काम बन्द गर्नुस्,’ ओली भने ।

राष्ट्रपतिको बचाउ
राष्ट्रपतिका लागि गाडी खरिद र प्रहरी प्रशिक्षण प्रतिष्ठानसम्म राष्ट्रपति कार्यालय विस्तारबारे भएको विरोधप्रति प्रधानमन्त्रीले बैठकमा चिन्ता जनाएका थिए । राष्ट्रपतिलाई १८ करोडको गाडी भन्दै नागरिक तहबाट भएको विरोधप्रति उनले असन्तुष्टि पोखे ।

‘लोकतन्त्रविरोधी तत्वहरू मर्यादाहीन ढंगले प्रस्तुत भएका छन् । यो असभ्यता र मर्यादाहीनताको पराकाष्ठा हो,’ प्रधानमन्त्रीले भने, ‘दरिद्र मानसिकता र संस्कारहीनता बढ्दै गएको छ ।’ २० वर्षअघिकै निर्णयअनुसार प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौती सार्ने निर्णय भएको उनको भनाइ छ ।