१० वर्ष पुरानो सभामुख सापकोटा विरुद्धको मुद्दा पहिलो नम्बर पेसीमा चढ्यो - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

१० वर्ष पुरानो सभामुख सापकोटा विरुद्धको मुद्दा पहिलो नम्बर पेसीमा चढ्यो



काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सापकोटाको मुद्दामा सुनुवाई हुने भएको हो ।

१० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन नसकेको यो मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा सापकोटा विरुद्धको मुद्दालाई पहिलो नम्बरमा राखेको छ ।

अर्जुन लामाकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटा विरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।

२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रे बाँझका अर्जुन लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा गाडेको अवस्थामा फेला परेको थियो ।

लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।

सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसीर २०६९ मा अर्को आदेश जारी गर्नु परेको थियो ।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत २०७६ असार २५ गते आदेश जारी गरेको थियो ।