लोकसेवाको विज्ञापन सच्चाउन सांसदहरूको दबाब - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

लोकसेवाको विज्ञापन सच्चाउन सांसदहरूको दबाब



काठमाडौँ   लोकसेवा आयोगले पछिल्लो पटक कर्मचारीको पदपूर्तिका लागि गरेको विज्ञापन संविधान र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको जनाउँदै सांसदहरूले सो सच्याउन माग गरेका छन्।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले स्थानीय तह र प्रदेशको अधिकारसमेत खोस्ने गरी आयोगले नौ ९,९६१ कर्मचारी केन्द्रबाट किन माग गरेको हो भनी प्रश्न गरे ।

प्रदेश र स्थानीय तहको कर्मचारी प्रदेश लोकसेवा आयोगमार्फत नै पदपूर्ति गर्ने व्यवस्था गर्न माग गर्दै उनीहरूले सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाए । समाजवादी पार्टी नेपालका रामसहायप्रसाद साहले आयोगको उत्तरदायित्व र विश्वसनीयतामाथि प्रश्न उठेको बताए, ‘यो सरकारमातहतको निकाय नभई संवैधानिक अङ्ग हो, उसले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ, विज्ञापनमा समानुपातिक र समावेशीको अवधारणालाई बेवास्ता गरिएको छ, त्यसैले त्यो विज्ञापनलाई तत्काल स्थगन गरी सच्याएर विज्ञापन गर्नुपर्छ ।’

सांसदहरूले सबै नागरिकले बराबरी अधिकार पाउन नसकेको बताउँदै कर्मचारीले आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन विदेश भ्रमण गर्ने विगतको प्रवृत्ति दोहो-याउन नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको आगामी युरोप भ्रमणका समयमा बेलायती गोर्खा सैनिकले उठाउँदै आएको माग सम्बोधन गर्न बेलायत सरकारसँग कुराकानी गर्न सांसदहरूले सुझाव दिए । बैठकमा सांसद प्रमोद साह, डा मीनेन्द्र रिजाल, लक्ष्मणलाल कर्णलगायतले धारणा राखेका थिए ।