संकटमा बेसार उद्योग
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका-३ बगुलियामा रहेको संगित बेसार उद्योग संकटमा परेको छ । वि.स. २०६९ सालमा स्थानीय महिलाहरूद्बारा स्थापना गरिएको बेसार उद्योग आर्थिक अवस्था कमजोर हुँदा संकटमा परेको हो ।
सि.वि.ओ विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहयोगमा करिब २५ जना महिलाहरुले समूह गठन गरि उक्त उद्योग संचालनमा ल्याएका थिए । दिनभर आफ्नो खेतमा काम गर्ने र रातभर अरुकोमा मेलापात गरि रकम जम्मा गरि उक्त उद्योग संचालनमा ल्याइएको समुहकि अध्यक्ष ललिता दहितले बताइन् । उनले समुहका सबै महिला मिलेर रातिमा १ बिगाहाको १ हजारका दरले मेलापात गरि रकम संकलन गरेर करिब ३९ हजारमा चक्की खरिद गरिएको बताइन् । अध्यक्ष दहितले आफुहरुको मिहेनत देखेर सि.वि.ओ नामक गैरसरकारी संस्थाले मोटर दिएपछि संचालनमा आएको उद्योग ५ बर्ष राम्रोसँग चलेपनि अहिले आर्थिक अवस्था कमजोर हुँदा बेसार समेत किन्न नपाइ बन्द हुने अवस्थामा पुगेको बताइन् ।

उद्योग सुरु गरेपछि अलि अलि जम्मा भएको रकमले जग्गा भाडामा लिएर बेसार खेती गरेको बताइन् । उनले भनिन, “सुरुमा बेसार उत्पादन बढी हुने भएकोले उद्योग राम्रोसंग संचालनमा आएपनी पछि उद्योगको लागि पर्याप्त जग्गा नहुदा भाडामा लिनुपर्ने भयो ।” अलि अलि भएको रकम पनि त्यही सकिएपछि बीउ खरिद गर्ने समेत पैसा नहुदा उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुग्यो ।” उनले थपिन, ।
जम्मा भएको रकमबाट भाडा तिर्न मात्र ठिक्क हुने हुदा बिउ किन्नको लागि समेत पैसा नहुदा उद्योगनै संकटमा परेको समुहकि सह सचिव चन्द्रपती चौधरीले बताइन् । ४० किलो बाट सुरु गरेको उद्योगबाट उत्पादन गरेका बेसारहरु नेपालका विभिन्न जिल्लाहरुमा पुगेको बताउदै चौधरीले सहयोगका लागि स्थानीय तहसंग कुरा राखेको बताइन् ।
यता घोडाघोडी नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष कमल थारुले उद्योग संचालनको लागि सहयोग गर्नको लागि यो आर्थिक बर्षमा रकम नभएपनि अब आउने आर्थिक बर्षमा उद्योगको लागि भवन निर्माण गरिदिने बताए । उनले उद्योगको लागि नगरपालिकाबाट करिब ५० क्विन्टल बेसारको बीउ उपलब्धको लागि पहल गरिरहेको समेत जानकारी दिए ।
गाउँ ठाउँमा स्थापना भएका उद्योगहरुलाई संचालनमा ल्याएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरियो भने रोजगारीसंगै आर्थिक अवस्थामा समेत सुधार हुने सरोकारवालाहरुले बताएका छन् ।

