विश्व ११ को पहिलो रोजाईमै परे सन्दिप - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

विश्व ११ को पहिलो रोजाईमै परे सन्दिप



विश्व क्रिकेटका स्टारहरु आज लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिएका छन् जसमा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि सामेल रहेका छन् । सन्दीपले सुरुवाती ११ मै स्थान बनाएका छन् ।

यस खेलमा उठेको पैसा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण तथा पीडितहरुको सहयोगका लागि खर्च गरिने छ ।

यस खेलमा विश्व ११ को टोलीलाई पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले कप्तानी गर्नेछन् । इंग्ल्यान्डका कप्तान इयोन मोर्गनको कप्तानीमा टोली उत्रिने भनिए पनि उनी चोटिल भएपछि सो जिम्मेवारी अफ्रिदीले लिने भएका हुन् । अर्को तर्फ वेष्ट इन्डिजको टोलीको कप्तानी कार्लोस ब्रेथवेटले गर्नेछन् ।

विश्व ११ को टोलीमा सन्दीपसहित बंग्लादेशका तमिम इक्बाल, भारतका दिनेश कार्तिक, पाकिस्तानकै शोएब मलिक, श्रीलंकाका थिसारा परेरा , अफ्गानिस्तानका रसिद खान र न्युजील्यान्डबाट लुक रोन्की र मिसेल म्याक्लिनिघन जस्ता अनुभवी नामहरु छन् । सन्दीपले हालै आइपिएलमा राम्रो प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो नाम चिनाउन सफल भएका थिए ।

अर्को तर्फ, वेष्ट इन्डिजको टोलीमा क्रिस गेल, दिनेस रामदिन, कार्लोस सामुयल्स, आन्द्रे रसल, सामुयल बद्रि र एभिन लुइसजस्ता ठूला नामहरु पनि रहेका छन् । खेल नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ र यस खेल आइसीसीको आधिकारिक फेसबुक पेजले प्रत्यक्ष प्रसारण गर्ने छन् ।