आगामी खेलमा सन्दीपलाई मौका दिने चर्चा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आगामी खेलमा सन्दीपलाई मौका दिने चर्चा



नयाँ दिल्ली–आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले खराब सुरुवात गरेको छ। दिल्लीले सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको छ। मंगलबार राति मुम्बई इन्डियन्सले पहिलो जित हात पारेसँगै दिल्ली आइपिएलको अंक तालिकाको पुछारमा झरेको छ।

कोलकता नाइटराइडर्स विरुद्धको पछिल्लो खेलमा दिल्ली ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको कोलकताले २ सय रन जोड्दा दिल्ली १४.२ ओभरमा  १ सय २९ रनमै अलआउट भएको थियो।

खराब प्रदर्शनपछि दिल्लीको आधिकारीक वेभ पोर्टलले हारका पाँच कारण विश्लेषण गरेको छ। जसमा राम्रो सुरुवात गरेर पनि लय समाप्त नसकेको, ट्रेन्ट बोल्ट बाहेक अन्य बलरले राम्रो प्रदर्शन गर्न नसकेको, कोलकताका आन्द्रे रसेलले १२ बलमा ६ छक्का प्रहार गर्दा दिल्ली दबाबमा आएको  र दिल्लीका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न नसकेको उल्लेख गरिएको छ।

पाँचौ नम्बरको विश्लेषणमा कोलकताका स्पिनरले राम्रो प्रदर्शन गर्दा दिल्लीका स्पिनर चुकेको उल्लेख छ। कोलकताका ३ स्पिनरले ७.२ ओभरमा ७ विकेट लिँदा ६६ रन खर्चिएका थिए। तर दिल्लीका स्पिनरले राम्रो खेल्न नसकेको दिल्लीको विश्लेषण छ। दिल्लीको विश्लेषणको अन्त्यमा आगामी खेलमा अनुभवी स्पिनर अमित मिश्रा र नेपालका शेन वार्न सन्दीप लामिछानेलाई मौका दिनु पर्ने भनिएको छ।

दिल्लीले आगामी शनिबार पाँचौ खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ।

आइपिएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बन्दै इतिहास बनाएका सन्दीपले सुरुवाती चार खेलमा मौका पाउन सकेनन्। चार जना मात्र विदेशी खेलाडीले एउटा खेलमा खेल्न पाउने निमयअनुसार सन्दीपलाई दिल्लीको पहिलो रोजाइको टिममा पर्न कठिन छ। विदेशी खेलाडीको रुपमा आवद्ध तीव्र गतिका बलर बोल्ट र ओपनिङ ब्याट्सम्यान जासन रोएले राम्रो प्रदर्शन गरिरहेका छन्। यस्तै ग्लेन म्याक्सवेल र क्रिस मोरिस पनि दिल्लीका राम्रा अलराउन्डर हुन्। यी चार मध्ये एक खेलाडीलाई हटाएर सन्दीपलाई टिममा राख्नु दिल्लीका लागि कठिन निर्णय हो।


सन्दीप दिल्लीको टिममा नपरेपछि नेपाली समर्थकले समाजिक सञ्जालमा अनेक टिकाटिप्पणी गरिरहेका छन्। सन्दीपले भने ट्विट गर्दै विश्वास र धैर्य गर्न आग्रह गरेका छन्।