आइपिएल: सन्दीपको खेल उत्कृष्ट, धोनीको टिमलाई हरायो दिल्लीले - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

आइपिएल: सन्दीपको खेल उत्कृष्ट, धोनीको टिमलाई हरायो दिल्लीले



काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।शुुक्रबार राति सम्पन्न खेलमा महेन्द्र सिं धोनीको टिम चेन्नई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए । रविन्द्र जडेजाले २७, सुरेश रैना १५, महेन्द्र सिंह धोनी १७ र शेन वाट्सनले १४ रन बनाए ।

चेन्नईबिरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १ विकेट लिए भने २१ रन खर्चेका थिए। चौथो ओभर भने उनका लागि महंगो भयो जहाँ उनले ११ रन खर्च गर्नुपर्‍यो। तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई क्याच आउट गरेका थिए। आफ्नो पहिलो र तेस्रो ओभरमा २/२ रनमात्र दिएका सन्दीपले लोभलाग्दो प्रदर्शन गरे। दिल्लीका लागि अमित मिश्रा र ट्रेन्ट बोल्टले २-२ विकेट लिए ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोड्यो। दिल्लीका रिसब पन्तले ३८, हर्सल पटेलले ३६ र विजय शंकरले ३६ रन बनाए।

दिल्लीको अघिल्लो खेलमार्फत सन्दीपले आईपिएलमा डेब्यु गरेका थिए।

विराट कोहली, एबी डे भिलियर्सलगायत स्टार खेलाडी सम्मिलित रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै एक विकेट लिएर २५ रन खर्चिएका थिए।

चेन्नाई १३ खेलमा १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा र अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको ८ अंक छ ।