सन्दिप लामिछानेको अर्को सफलता: आइसिसी- ११ मा छानिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्दिप लामिछानेको अर्को सफलता: आइसिसी- ११ मा छानिए



काठमाडौं- सन्दीप लामिछाने आइसिसीले ११ मा छानिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले वेस्ट विन्डिजविरुद्ध मे ३१ तारिखमा हुने टीट्वेन्टी खेलका लागि नेपालका सनसनीबाज स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको हो ।

बंगलादेशका स्पिनर सकिब अल हसनले नाम फिर्ता लिएपछि आइसिसीले सन्दिपलाई टोलीमा समावेश गरेको हो। इङ्ल्यान्डका कप्तान इओइन मोर्गनको कप्तानीमा रहेको आइसिसी-११ मा पाकिस्तानका साहिद अफ्रिदी, ब‌ंगलादेशका तामिम इकबाल, भारतका दिनेश कात्तिक, अफगानिस्तानका रसिद खान, न्युजिल्यान्डका मिचेल म्याकलेनघान, पाकिस्तानका सोएब मलिक, भारतका हार्दीक पान्ड्या , श्रीलंकाका थिसरा परेरा र न्युजिल्यान्डका लुक रोँची छन्।

आईसिसीले विश्वभरका सदस्य देशबाट उत्कृष्ट खेलाडी छनोट गरी टिम बनाएर टीट्वेन्टी विश्व च्याम्पियनविरुद्ध खेलाउन लागेको हो। वेस्ट विन्डिजबिरुद्धको उक्त खेलमा सन्दिपले खेल्ने पक्का छ। आईसिसी टोलीमा रहेका अफ्रदी, रसिद र सन्दीप स्पीन स्पेसलिस्टका रुपमा रहने छन्। अफ्रिदी पुर्व विश्व नम्बर एक र रसिद वर्तमान नम्बर एक बलर हुन्।

उक्त खेल क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा हुने छ। यस खेलबाट उठेको रकम आधीबेरीका कारण क्यारेबियन क्षेत्रमा भत्किएको रंगशाला पुनर्निर्माणमा खर्च गरिने छ। हाल इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेट खेलिरहेका सन्दीपले आईतबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै डेब्यु गरेका थिए।। उनले त्यस खेलमा चार ओभर खेल्दै एक मेडन राखेर २५ रन मात्र खर्चिएका थिए। दुई वर्षअघि मात्र सिनियर टोलीमा डेब्यु गरेका सन्दीप पछिल्लो समय नेपाली क्रिकेटका दुत बनिरहेका छन्।