सन्दीपलाई १२ वर्ष जेल हाल्ने तयारी, सम्पत्ति छानबिन पनि सकियो - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

सन्दीपलाई १२ वर्ष जेल हाल्ने तयारी, सम्पत्ति छानबिन पनि सकियो



काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षका लागि जेल सजाय माग गर्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौं र गौशाला प्रहरी वृत्तले बुझाएको अनुसन्धानको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो।

प्रहरीले सबै नाबालिग करणी र सम्पत्ति छानबिन सहितको अनुसन्धान सकेर कात्तिक ४ गते सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सन्दीपविरुद्ध १७ वर्षीय एक नाबालिगले भदौ २१ गते जर्बजस्ती करणीमा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। भदौ ५ गते आफूलाई कफी पिउन बोलाएर एक होटलमा पुर्‍याइ मदिरा सेवन गराइ लठ्याएर सन्दीपले आफूलाई करणी गरेको आरोप ती किशोरीको थियो।

उजुरीअनुसार सन्दीपकी फ्यान रहेकी ती किशोरीलाई सन्दीपले बानेश्वरमा कफी पिउन बोलाएका थिए। सन्दीपले त्यहाँबाट आफ्नै कारमा ती किशोरीलाई नगरकोट पुर्‍याएका थिए। होस्टल बन्द भइसकेपछि मध्यराति काठमाडौं फर्किएका उनीहरु गौशालास्थित एक होटलमा सँगै बसेका थिए। सोही रात आफूलाई सन्दीपले पटकपटक जर्बजस्ती करणी गरेको आरोप ती किशोरीले लगाएकी छन्।

भदौ ६ गते सन्दीप केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगे। यता उनीविरुद्ध उजुरी परेपछि भने सन्दीपले उक्त खेल खेल्न पाएनन्। त्यसपछि केही समय विदेशमै लुकेर बसेका सन्दीप असोज २० गते काठमाडौं आइपुगेका थिए। प्रहरीले विमानस्थलबाटै उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा सन्दीपविरुद्ध आरोप पुष्टि हुने यथेष्ट प्रमाण संकलन भएको प्रहरीले जनाएको छ। प्रहरीले सन्दीप र ती किशोरीबीच भएको स्न्यापच्याटको म्यासेज समेत रिकभर गरेको छ। सीसीटीभी फुटेज, होटल मालिक र सन्दीपस्वयंकै बयानले समेत आरोप पुष्टि हुने दाबी प्रहरीको छ।

सन्दीपले भने हालसम्म इन्कारी बयान दिँदै आएका छन्। उनले आफूहरु सो रात होटलमा दुईओटा कोठा नभेटिएका कारण सँगै एकै कोठामा बसे पनि करणी भने नगरेको दाबी गरेका छन्। उनले कफी पिउन भेटेको, किशोरीकै आग्रहमा नगरकोट घुम्न गएको र राति होस्टल बन्द भइसकेकाले बाहिर बस्न किशोरीले गरेको आग्रहकै कारण होटलमा पुगेको दाबी गरिरहेका छन्।

मुद्दा दर्ताका लागि सन्दीपविरुद्ध सीसीटीभी फुटेज, बयान, मेडिकल रिपोर्ट, स्न्यापच्याट म्यासेज र कल डिटेल्सलाई प्रमाणका रुपमा पेश गर्न लागिएको छ। सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा प्रहरीले अनुसन्धान गरेको थियो। उक्त दफाको उपदफा ३ (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरिँदैछ।