सन्दीप लामिछानेविरुद्ध मुद्दामा अन्तिम सुनुवाइ भोलि, के आउला फैसला ? - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

सन्दीप लामिछानेविरुद्ध मुद्दामा अन्तिम सुनुवाइ भोलि, के आउला फैसला ?



क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए।

यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको रिटमा सुनुवाइ भएको थियो। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ। यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेशमा उल्लेख छ।

लामिछानेको मुद्दामा सोमबार पेशी तोकिएको छ। यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाई तत्काल टुंग्याउने सम्भावना छ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो।

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै सन्दीप दुवईमा क्रिकेट खेलेर फर्किएका थिए।

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए।