सन्दीप लामिछानेको कप्तान पद धरापमा, निलम्बन गर्ने क्यानको तयारी - Himal Post Himal Post
  • २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
Logo

सन्दीप लामिछानेको कप्तान पद धरापमा, निलम्बन गर्ने क्यानको तयारी



काठमाडौं- एक नाबालिक युवतीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि सन्दीप लामिछानेको कप्तान पद धरापमा पर्ने भएको छ । प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दिप लामिछानेको भविष्य नै धरापमा पर्ने देखिएको छ ।

नाबालिकलाई करणी गरेको गम्भीर आरोप् लागेपछि मुद्दा किनारा नलागेसम्म उनलाई चारैतिरबाट समस्या पर्ने देखिएको छ । उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने अवस्था आउने बताइएको छ ।

मंगलबार गौसाला प्रहरीमा बालिकाले दिएको उजुरीमा उनलाई ललाई फकाई करणी गरेको उल्लेख छ । उजुरी दिएपछि उनको भविष्य अन्धकार बन्ने देखिएको छ ।

लामिछानेविरुद्धको आरोप प्रमाणित भए उनले सजाय भोग्नुपर्नेछ भने अनुसन्धान सुरू भएदेखि मुद्दा किनारा नलागेसम्म उनलाई समस्या पर्नेछ । गम्भीर आरोप लागेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गर्न लागेको बताइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को बैठक आजै बस्न लागेको बताइएको छ । क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो ।

ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीहरु अनुशासन उल्लंघनको आरोपमा कारवाहीमा परेपछि सन्दीपले कम उमेरमा राष्ट्रिय टिमको बागडोर पाएका हुन् ।

कप्तानका रुपमा उनको नतिजा मिश्रित छ भने खेलाडीका रुपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरुको सूचीमा उनी एक नम्बरमा छन् ।

केन्यामा जारी क्रिकेट सिरिज छोडेर सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । सीपीएलमा उनी जमैका तल्लाजवजमा आवद्ध छन् । सन्दीपले यसअघि सीपीएलका तीन संस्करण खेलिसकेका छन् ।