सन्दीपको मुद्दामा बहस सुरु : यी हुन् सन्दीपको पक्षमा बहस गर्ने अधिवक्ताहरू - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सन्दीपको मुद्दामा बहस सुरु : यी हुन् सन्दीपको पक्षमा बहस गर्ने अधिवक्ताहरू



सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । घिमिरेको २८ नम्बर इजलासमा याे मुद्दाकाे पेसी तोकिएको छ ।

नुवाकोटकी एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा लामिछाने २० असोजमा पक्राउ परेका थिए । उनीमाथि नाबालिकाले ५ भदौमा प्रहरीमा उजुरी दिएकी थिइन् । सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्ष कैद सजायको माग दाबी गरेर जिल्ला अदालतमा पेस गरेकाे छ ।

आज सुरुमा न्यायाधीश घिमिरेले लामिछाने र पीडित नाबालिकाकाे बयान लिनेछन् । उनीहरूको बयान सकिनासाथ दुवैतर्फका वकिलकाे बहस हुनेछ । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले बहस गर्ने छन् । पीडित नाबालिकाको तर्फबाट भने सकारी वकिलले बहस गर्नेछन् ।

लामिछानेले आफूमाथि लागेको आरोप सत्य नभएको बयान प्रहरी र सरकारी वकिल कार्यालयमा दिएका छन् । उनले सरकारी वकिल कार्यालयमा दिएको बयानमा पीडित भनिएकी नाबालिकासँग नगरकोट घुमेर गौशालाको काठमाडौं इन होटलमा बसेको तर यौन सम्पर्क भने नभएको जिकिर गरेका छन् ।

उनले बयानमा भनेका छन्,‘ पीडित भनिएकी युवती कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाईं बरु यहीँ बस्नुस्, हामी यहीँ बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा हैन म यहीँ ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसेँ र निज बेडमै थिइन् । बलात्कारको आरोप लगाएकी पीडित नाबालिकाले नै नगरकोट घुम्न जाने ढिपी गरेपछि गएको र आफ्नो गाडीमा भएको गितार बजाएर रमाइलो गरेको हो । बलात्कार गरेको होइन ।’

तर, नाबालिकाले भने आफूमाथि लामिछानेले होटलमा बस्दा दुई पटक बलात्कार गरेको बयान सरकारी वकिल कार्यालयमा दिएकी छिन् । लामिछाने र पीडित नाबालिकाले प्रहरी र सरकारी वकिल कार्यालयमा जे सुकै बयान दिएको भए पनि न्यायिक प्रक्रियामा अदालतको बयान नै अन्तिम हुने गर्छ । प्रहरी र सरकारी वकिल कार्यालयले भने लामिछानेले बालात्कार गरेको देखिने प्रमाण पेस गरेको दाबी गरेका छन् ।

प्रहरीले होटलको सीसीटिभी फुटेजदेखि होटलमा बस्न लामिछानेले गरेको दर्ता कार्ड, पीडित नाबालिकासँगको त्यही दिनको फोटो र सन्दीप र पीडित नाबालिकाबीच स्न्याप च्याटमा भएको केही कुराकानीलाई समेत महत्वपूर्ण प्रमाणको रूपमा पेस गरेको छ ।

यसबाहेक पीडितको र सन्दीप लामिछाने दुवैकाे स्वास्थ्य परीक्षणको रिपोर्ट दुईवटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरेको छ । पीडित नाबालिकाको कन्याजाली च्यातिएको रिपोर्टसमेत प्रहरीले पेस गरेको छ । सरकारी वकिल कार्यालयले सन्दीपबाहेक अन्य १२ जनाको समेत बयान पेस गरेको छ ।