सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा



घनश्याम पौडेल /मसुरिया , कैलाली ।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं ९ मा पर्ने र बसन्ता वनलाई चुरे सँग जोड्ने शिवशंकर सामुदायिक वनमा हिजो शुक्रवार साँझ देखि लागेको डढेलो आज नियन्त्रणमा आएको छ ।

सामुदायिक वनको मध्यभागबाट सुरु भएको डढेलो नेपाली सेना कालिरक्षा गण (ई) गौरीगंगा नगरपालिका ८ वढैपुर, इलाका प्रहरी कार्यालय मसुरिया र उपभोक्ताको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको हो । हिजो साँझ डढेलो वन क्षेत्रमा फैलिए पछि उपभोक्ताहरूले निभाउने क्रममा हावा चलेको थियो ।

राति ११ बजे सम्म पनि आगो निभाउन नसके पछि आज बिहानबाटै ४४ जना सेना र ५ जना प्रहरी र उपभोक्ताको सहयोगमा शिवशंकर सामुदायिक वन, राष्ट्रिय वन क्षेत्र र घोडाघोडी नगरपालिका वडा नं १० मा पर्ने विरेन्द्र सामुदायिक वनमा फैलिएको डढेलो आज दिउँसो एक बजे नियन्त्रणमा लिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव लक्ष्मी कलेलले जानकारी दिनुभएको छ ।

डढेलोले वन ठुलो परिमाणमा पुनः उत्पादन भएका स-साना सालको बिरुवा जलेर नष्ट भएको छ । वन्यजन्तुको बासस्थान रहेको वनको मध्यभाग डढेलो लागेको हो । वन्यजन्तुको हानी नोक्सानी के कति भएको छ भन्ने विवरण प्राप्त हुन सकेको छैन ।